समाज


भक्तपुर अस्पताल लगातार चौथोपटक देशभरमा उत्कृष्ट घोषणा

भक्तपुर अस्पताल लगातार चौथोपटक देशभरमा उत्कृष्ट घोषणा

नेपालखबर
जेठ १८, २०८२ आइतबार २३:१४, काठमाडौँ

भक्तपुर अस्पताललाई देशभरकै उत्कृष्ट घोषणा गरिएको छ।

भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अङ्क प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथोपटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमी आउन नदिन कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताए। 

अस्पतालमा न्युरो सेवा सञ्चालन गर्न मन्त्रालयले एक करोड विनियोजन गरेको उल्लेख गर्दै उनले एक महिनाभित्र सो अस्पतालमा डायलाइसिस सेवा पनि सञ्चालन गर्ने तथा अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने जानकारी दिए।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव डा सुमित्रा गौतमले १२१ वर्षको इतिहास बोकेको र वीर अस्पतालपछि स्थापित देशकै दोस्रो जेठो अस्पताल गुणस्तर र सेवा प्रवाहमा पहिलो बन्न सफल बन्न सकेको बताइन्। 

कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्वको प्रभावबाट जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्ने उनको भनाइ थियो।

भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नुपर्ने उल्लेख गर्दै सचिव गौतमले मन्त्रालयमै बसेर दैनिक रुपमा प्रदेशका १३ अस्पतालमा कति बिरामी आए, कति भर्ना भएलगायत विवरण सबै हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको जानकारी पनि दिइन्।

सङ्घीय सरकारले स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन टिमका संयोजक एवं वीर अस्पताल नर्सिङ कलेजका प्रमुख एवं उपप्राध्यापक रोशनी तुईतुईले देशभरका सकेन्डरी ‘बी’ लेबलको अर्थात् देशभरका तीन सय शय्यामा सञ्चालित अस्पतालको मूल्याङ्कन टोलीले गुणस्तर मापन गर्दा भक्तपुर अस्पताल प्रथम भएको घोषणा गरिन्।

भक्तपुर अस्पताललाई अब प्रतिष्ठान बनाउनुपर्ने उनको धारणा थियो।

घोषणाअनुसार लुम्बिनी प्रदेशिक अस्पतालले ८९ अङ्क प्राप्त गरी दोस्रो र भरतपुर अस्पताल ८८ अङ्क प्राप्त गरी तेस्रो भएका छन्।

बागमती प्रदेशमध्येका १३ अस्पतालमध्ये धादिङ अस्पतालले ८२ अङ्क ल्याएर दोस्रो र त्रिशूली अस्पताल ८१ अङ्क ल्याएर तेस्रो भएको मूल्याङ्कन टोलीका सदस्य एवं वीर अस्पतालका डा फणीन्द्रप्रसाद बरालले बताए।

अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले अस्पतालले दिँदै आएको सेवा तथा सुविधाबारेमा जानकारी गराउदै यसवर्ष बहिरङ्ग, अन्तरंग, शल्यक्रिया, प्रसूतिलगायतका सेवामा बिरामीको आगमन विगतका वर्षमा भन्दा बढेको जानकारी दिए।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवाली, टोलीका सदस्य एवं बागमती प्रदेश अस्पताल विकास तथा अनुगमन शाखाका प्रमुख नवीन दर्नाल, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा नरेन्द्रकुमार झा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष तथा अस्पताल विकास समितिका सदस्य रवीन्द्र ज्याख्व, अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक रोशनी श्रेष्ठलगायतले असल नेतृत्व आएमा अस्पतालमा सुधार गर्न सकिने धारणा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad