राजा फर्काउने भन्दै केही दिनयता सडक प्रदर्शन गरिरहेको राप्रपाले भोलि उपत्यका बन्द नगर्ने बताएको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलि गर्ने भनिएको बन्दको कार्यक्रम फिर्ता लिएको जनाएका छन्।
आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा भइसकेका कारण उपत्यका बन्दको कार्यक्रम नगर्ने उनले वक्तव्यमा स्पष्ट पारेका छन्।
लिङ्देनले फेसबुकमा लेखेका छन्-
आजको प्रदर्शनमा भएको हस्तक्षेपको भत्सर्ना गर्दै प्रहरी दमनमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य माननीय दिपक सिंह लगायत आज पक्राउ परेका सबै नेता कार्यकर्ताहरू रिहा हुनुभएको छ।
सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ। आज सरकारको तर्फबाट पक्राउमा परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसङ्ग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु।
आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भए पश्चात हाम्रो सक्रिय सहभागिता रहनेछ।
Shares

प्रतिक्रिया