समाज


कञ्चनपुरमा असईमाथि कुटपिट

कञ्चनपुरमा असईमाथि कुटपिट

नेपालखबर
जेठ २७, २०८२ मंगलबार २०:४७, कञ्चनपुर

प्रहरी पोशाकको पाइन्ट लगाएका छन्। माथिल्लो शरीरमा गन्जी मात्रै छ। त्यो पनि च्यातचुत पारिएको छ। 

ती व्यक्तिलाई एक जनाले बेस्सरी अँठ्याएर लजारपछार गर्दैछन्। एकैछिन पछि अरु मान्छे पनि आएर उनीमाथि हातपात गर्छन्। 

करिब ३ मिनेटको यो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडिओमा कुटाइ खाने व्यक्ति प्रहरी कर्मचारी हुन्।

कञ्चनपुको बेलौरीस्थित पचुईँ प्रहरी चौकीमा कार्यरत असई बीरबहादुर चन्द हुन, उनी। चन्दलाई बेलौरीकै स्थानीयले बजारमा कुटपिट गरेका छन्। 

प्रहरीका अनुसार यो घटना २१ जेठको हो। तस्करीको सामान बरामद गरेको रिसले आफूमाथि कुटपिट भएको असई चन्दले बताए। 

उनका अनुसार जेठ २१ गते बिहान पचुईँ प्रहरीको टोलीले भारतबाट ल्याएको मल बरामद गरेको थियो। बरामद मल लिएर प्रहरी टोली फर्कियो तर असई चन्द त्यहीँ छुटे।

उनका अनुसार मल बरामद स्थल नजिकै हार्डवेयर पसल सञ्चालक र स्थानीयले चन्दमाथि आक्रमण गरेका हुन्। 

‘केहीदिन पहिले भारतबाट भन्सार छलि गरेर ल्याएको १८ हजार रुपैयाँ बराबरको हार्डवेयर सामान बरामद गरेको थिएँ,’ असई चन्दले भने, ‘पसल नजिकै मल बरामद गरेको दिन एक्लै भेटेको मौकामा ती व्यक्तिले आक्रमण गरेका हुन्।’

२१ गतेको घटना भएपनि भिडिओ सार्वजनिक भएपछि मात्रै घटना बाहिरिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको बारेमा अनुसन्धान थालेको छ।

भिडिओमा प्रहरीलाई अँठ्याएर लछारपछार गरेको देखिएका एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। स्थानीय ३२ वर्षीय राहुल रानालाई नियन्त्रणमा लिएको र भिडिओमा देखिएका अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad