नेपाली कांग्रेसका पूर्व सांसद आफताव आलमलाई सफाइ दिने न्यायाधीशमाथि मसी प्रहार गरिएकोप्रति नेपाल बार एशोसिएसनले आपत्ति जनाएकोछ ।
बिहीबार आफूलाई नेकपा बहुमत सर्मथित कार्यकर्ता भन्नेहरुले उच्च अदालत जनकपुर बीरगञ्ज इजलासमै न्यायाधीश डा. खुशीप्रसाद थारुमाथि मसी प्रहार गरेका थिए।
बारले कानुनले प्रदान गरेको अख्तियारि प्रयोग गरि न्यायाधीशले फैसला गर्न पाउने भन्दै विवादित विषयमा सत्य निक्र्योल गर्ने काम पनि अदालतकै भएको बताएको छ।
‘कानुनले प्रदान गरेको अख्तियारि प्रयोग गरि न्यायाधीशले फैसला गर्न पाउँदछन् र गर्नुपर्दछ भन्ने कुरामा नेपाल बार एशोसिएशन स्पस्ट छ,’ बारको विज्ञप्तिमा भनिएको छ, ‘कुनैपनि विवादमा विभिन्न मत देखापर्न सक्दछन। ती विवादित मत मध्ये सही के हो भनि ठहर्याउने कार्य न्यायिक प्रक्रिया मार्फत न्यायालयकै हो। कुनै पनि विवादमा न्यायलय बाहेकले सही गलत छुट्याउने कार्य धेरै अघि यस समाजबाट उन्मुलन भैसकेको कुरा हो। त्यस्तो कार्यको पुनर्स्थापना हुन सक्दैन।’
न्यायलयको फैसलामा चित्र नबुझे पुनरावेदन गर्न पाउने हक रहेको भन्दै बारले कानुन हातमा लिन नमिल्ने बताएको छ। ‘न्यायाधीशको विवेक प्रयोगमा असर पुर्याउने तथ्य, प्रमाण र कानुन बाहेक अरु हुन सक्दैन,’ बारले भनेको छ, ‘कानुन हातमा लिनेको चाहनामा इन्साफ हुन सक्दैन, गर्न मिल्दैन। इन्साफमा चित्त नबुझ्नेले पुनरावेदन गर्न पाउने हक कानुनले प्रदान गरेको छ।’
Shares

प्रतिक्रिया