गत फागुनमा ललितपुरको सातदोबाटोमा एकाबिहानै गाडी कुरिरहेकी एक युवतीलाई कारमा हाली लगेर बलात्कार गर्ने व्यक्ति अझै पक्राउ परेका छैनन्।
सीसीटीभी फुटेजका आधारमा उतिबेलै कार पहिचान गरिएको र अपराधी चाँडै पत्ता लाग्ने बताएकाे प्रहरीले १ महिनाभन्दा बढी भइसक्दा पनि दोषी पक्राउ गर्न नसकेको हो।
किन त?
बुधबार बिहान नेपालखबरले राखेको यो प्रश्नमा ललितपुर महानगरीय प्रहरी परिसरका प्रमुख (एसपी) टेकबहादुर राईले ती व्यक्तिको खोजी व्यापक भइरहेको तर लगत्तै कोरोना भाइरसको महामारी सुरु भएकाले केही अवरोध पुगेको बताए।
‘त्यो व्यक्ति अवश्य पक्राउ पर्छ, खोजीमा हाम्रो एउटा टिम नै लागिरहेको छ,’ एसपी राईले नेपालखबरसँग भने, ‘सीसीटीभीको अध्ययनपछि हामी स्थलगत खोजीको चरणमा प्रवेश गरेका छाैँ तर अहिले कोरोना महामारी भएकाले त्यो काम रोकिएको छ।’
कोरोना महामारी भएकाले अहिले घरघरमा खानतलासी गर्न नमिलेको उनको दाबी छ।
उनले अगाडि भने, ‘इन्भेस्टिगेसन (अनुसन्धान)को एउटा रुल्स (नियम), मेथड (विधि) हुन्छ, त्यस आधारमा हामी अनुसन्धान गरिरहेका छौं, त्याे व्यक्ति अवश्य पक्राउ पर्छ। ’
याे पनि :
सातदोबाटोमा उभिएकी महिलालाई कारमा लगेर एकाबिहानै बलात्कार
सातदोबाटो बलात्कार प्रकरण : प्रहरी भन्छ- युवतीलाई निलो कारमा लैजाने व्यक्ति छिट्टै पक्रन्छौँ

प्रतिक्रिया