विश्वभर महामारी बनिरहेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण नेपालका पनि नौ जनालाई भइसकेको छ। तीमध्ये एक जना निको भएर पनि आफ्नो नियमित काममा फर्किसकेका छन् भने अन्य ८ जना अस्पतलामा उपचार गराइरहेका छन्।
कोरोना संक्रमण फैलिन नपाओस् भनेर सरकारले चैत ११ देखि पूरै देश लकडाउन (बन्दाबन्दी) गरेको छ भने कोरोना संक्रमण आशंका भएका व्यक्तिलाई खोजीखोजी क्वारेन्टिनमा राख्ने तथा उनीहरूको स्वास्थ्य परीक्षण गर्ने गरिरहेको छ।
साथै नेपाल बाहिरबाट आएका, उनीहरूको सम्पर्कमा रहेका परिवार तथा जो कोही र कोरोनाको जस्तै लक्षण देखिएर रुघाखोकी लागेका व्यक्तिलाई सरकारले इमान्दारीपूर्वक तुरुन्त अस्पतालको सम्पर्कमा आउन आह्वान गरिरहेको छ।
कतिपय व्यक्ति इमान्दारीपूवर्क आफ्ना लक्षण बताउँदै अस्पताल पुगेका छन् र आवश्यक परे परीक्षण पनि गराइरहेका छन्। तर त्यस्ता थुप्रै मानिस रहेको आशंका छ- जो विदेशबाट आएर पनि, लक्षण देखिएर पनि लुकेर बसिरहेका छन्।
तर यो प्रवृत्ति आफू, आफ्नो परिवार र देशकै लागि आत्मघाती भएको बताउँछन्, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुन। त्यसैको परिणाम भारतबाट आएका कैलालीका एक युवकबाट घरमै रहेकी आफ्नी भाउजुलाई पनि कोरोना भाइरस सरेको उनी बताउँछन्।
‘यदि सुरुमै उनले आफू आएको तथा आफूलाई देखिएको लक्षण इमान्दारीपूर्वक बताएर क्वारेन्टिनमा रहेको भए वा अस्पताल गएको भए उनको भाउजुलाई सर्न पाउने थिएन,’ उक्त अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजकसमेत रहेका डा. पुन भन्छन्, ‘ले हेर्नुस् त रोग (कोरोना) लुकाउँदा सिंगो देश नै संक्रमणको दोस्रो चरणमा प्रवेश गर्याे र स्थिति अलि जटिल बन्यो।’
वास्तवमा कोरोना भाइरसले भेट्दैमा मानिस मरिनहाल्ने हाेइन, बरु बेलैमा पहिचान गरेर उपचार वा सावधानी सुरु नगरेमा भने अवस्था जटिल बन्न सक्ने डा. पुन बताउँछन्।
‘रोग लुकाएर लुक्दैन, त्यसले गर्ने हानि गरेरै छाड्छ, अनि अवस्था अन्तिम भएपछि उपचार पनि गाह्रो हुन सक्छ,’ उनले भने, ‘त्यसैले सबैलाई मेरो सुझाव के छ भने आफू पनि बाँच्ने र अरूलाई बचाउने हो भने कृपया इमान्दारीपूवर्क आफ्नो विवरण दिनुहोस् र बेलैमा सावधानी र उपचार थाल्नुहोस्।’
कोरोना लाग्दैमा मरिन्न
डा. शेरबहादुर पुन धेरै मानिसमा कोरोना भाइरसको संक्रमण हुनेबित्तिकै मरिहालिन्छ भन्ने भ्रम रहेकाले पनि बढी त्रास फैलिएको बताउँछन्।
‘तर यस्तो बिलकुल होइन, कोरोना भाइरस लाग्दैमा मरिँदैन,’ बुधबार बिहान नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘त्यसको सबैभन्दा गतिलो उदाहरण हाम्रै देशमा छ।’
उदाहरण दिँदै थपे, ‘पहिलो उदाहरण- सुरुमा संक्रमण पुष्टि भएका जो चीनबाट आएका थिए, उनी निको भएको धेरै भइसक्यो। दोस्रो उदाहरण- अहिले उपचारमा रहेका ८ जनाको अवस्थामा पनि सामान्य छ।’
उनका अनुसार विश्वको तथ्यांक हेर्दा संक्रमितमध्ये ५ प्रतिशत बिरामीको मात्रै मृत्यु भएको देखिन्छ। त्यो पनि वृद्ध उमेर, दीर्घ रोगका कारण।
विश्वको कोरोनासम्बन्धी तथ्यांक पलपलमा अपडेट गर्ने वर्ल्डओमिटरका अनुसार विश्वमा अहिलेसम्म १४ लाख ३२ हजार ३ सय ७३ संक्रमित भएका छन् भने तीमध्ये ३ लाख २ हजार २ सय ९२ जना उपचारपछि निको भइसकेका छन्। मृत्यु संख्या ८२ हजार १ सय १४ मात्रै छ।
‘यसैलाई विश्लेषण गरेर हेर्नुस् न,’ डा. पुन भन्छन्, ‘तर हाम्रो दिमाग ५ प्रतिशत मृत्युमा मात्रै केन्द्रित भइरहेको छ, निको भएका त्यति ठूलो संख्यामा चाहिँ हाम्रो ध्यान कहिले जाने?’
‘त्यसैले तपाईंको मिडियामार्फत म सबैलाई आह्वान गर्न चाहन्छु- आफूमा कुनै शंका छ भने कृपया लुकेर नबस्नुस्, इमान्दारीपूवर्क सम्पर्कमा आउनुस्, रोग भए उपचार गर्नुस्, नभए परीक्षण गरेर ढुक्क बन्नुस्।’
उनी अगाडि भन्छन्, ‘तर लुकाएर बस्नुभयो भने तपाईं आफू मात्र मर्नुहुन्न, तपाईंको परिवार, छिमेकी अनि यो सिंगो देश नै बर्बाद हुन सक्छ।’
याे पनि :
टेकु अस्पतालका डा.पुन भन्छन्ः अब पनि हेलचक्र्याइँ गर्याैँ भने हामीले भोग्ने इटालीकै अवस्था हो

प्रतिक्रिया