काजमा रहेका कर्मचारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अटेर गरेका छन्। तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन मन्त्रालयलले निर्देशन दिएको १० दिन बित्दा पनि कर्मचारीहरू फिर्ता भएका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २८ गते काजमा रहेका र सरुवा भई रमाना हुन बाँकी कर्मचारीलाई खटाइएको स्थानमा तीन दिनभित्र हाजिर हुन निर्देशन दिएको थियो। अटेर गर्ने कर्मचारीलाई विभागीय कारबाही समेत गर्ने भन्दै सचिवस्तरीय निर्णय गरेको थियो।
मन्त्रालयले संघ अन्तर्गतका १३ अस्पताल र विभागमा काजमा मिलाएर बस्ने कर्मचारीलाई तीन दिनभित्र खटाइएको स्थानमा जान भनेको थियो।
स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक विभाग, औषधि व्यवस्था विभाग, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, ट्रमा सेन्टर, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र र भेरी अस्पताल, भरतपुर, नारायणी, कोसी, डडेलधुरा, मानसिक अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल,गजेन्द्रनारायण, पश्चिामाञ्चल क्षेत्रीय अस्पताल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका लागि सो निर्देशन दिइएको हो।
मन्त्रालयभित्रै काजमा रहेका कर्मचारीको विषयमा भने बोलेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नै २५ भन्दा बढी काजका कर्मचारी कार्यरत छन्।
मन्त्रालयले निर्देशन दिएको १० दिनसम्म पनि काजमा कार्यरत कर्मचारी फिर्ता भएका छैनन्। तर, मन्त्रालयले काजमा रहेका कर्मचारीको सूची समेत तयार पार्न सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काजमा र सरुवा भई रमाना हुन बाँकी कर्मचारी तीन सय हाराहारीमा छन्। तीमध्ये २५ जनाजति कर्मचारी मन्त्रालयमा नै छन्।
मन्त्रालयका एक पदाधिकारीका अनुसार स्वास्थ्यका अधिकांश कर्मचारी काजमा नै बसेका छन्।
‘केही आफनो अनुकूल मिलाएर बस्नु भएको छ। केहीले आफनो विज्ञता अनुसारको सेवा दरबन्दी भएको अस्पतालमा नभएपछि काज मिलाउने गर्नुभएको छ। अब आईसीयू, भेन्टिलेटर चलाउने चिकित्सकलाई आईसीयू सेवा नै नभएको अस्पतालमा दरबन्दी भए पछी उहाँले त्यहाँ के काम गर्नुहोला र?’ उनी भन्छन्, ‘यसमा मन्त्रालयको पनि गल्ती छ। चिकित्सकलाई उनीहरूको दरबन्दी अनुसारको काम गर्ने वातावरण मिलाउनु पर्छ।
काज फिर्ता गराउन निकै गाह्रो रहेको उनको भनाइ छ।
प्रवक्तादेखि महाशाखा प्रमुखसम्म काजमा
मन्त्रालयमा प्रवक्ता रहेका डा प्रकाश बुढाथोकीदेखि नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा कृष्णप्रसाद पौडेलसम्म काजमा छन्।
दन्तरोग विशेषज्ञ डा बुढाथोकीको दरबन्दी वीर अस्पतालमा छ। उनी २०८१ असोजमा मन्त्रालय आएका थिए। उनलाई मन्त्रालयको प्रवक्ता र स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईका प्रमुखको जिम्मेवार तोकिएको छ।
‘म पुल दरबन्दी अन्तर्गत छु। काजमा आएको होइन। म जान पर्दैन,’ उनले भने।
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा कृष्णप्रसाद पौडेलको दरबन्दी कान्ति बाल अस्पतालमा छ। उनी ११ औँ तहका बाल रोग विशेषज्ञ हुन्। पौडेल ४ वर्षदेखि मन्त्रालयमा छन्।
गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा सरोज शर्माको दरबन्दी वीर अस्पतालमा छ। वीर अस्पतालको ११ औं तहका रेडियोलोजिस्ट डा शर्मालाई कामकाजका लागि २०८१ असोजमा मन्त्रालय तानिएको थियो।
उपचारात्मक सेवा महाशाखाबाट स्वास्थ्य मन्त्रालय तानिएका डा अनुप बास्तोलाको दरबन्दी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छ। २०८१ कात्तिकमा डा बास्तोला कामकाजका लागि मन्त्रालयमा तानिएका थिए। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले १६ मंसिरमा गुनासो सुनुवाइ समितिको संयोजकत्वमा डा बास्तोलालाई दिएका थिए। बास्तोला ११ औँ तहका हुन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक समेत बनिसकेका उनी निर्देशक नपाएपछि मन्त्रालयमा काज मिलाएर बसेका छन्।
१० औँ तहका डा पुष्पराज पौडेल, डा सन्तोष मानन्धर, विमला नापित, हेमराज पुनमगर, रमेशप्रसाद जैशी, गोपाल पाण्डे, विशाल उपाध्याय, रोहित घिमिरे, डिल्लीराज आचार्य लगायतका कर्मचारी पनि मन्त्रालयमा काजमा छन्।
संघ अन्र्तगतका १३ अस्पतालमा नै आफनो अनुकूलको काज मिलाएर वर्षौंदेखि धेरै चिकित्सक, नर्स र कर्मचारी कार्यरत छन्।
हरेकपटक नयाँ स्वास्थ्यमन्त्री नियुक्त हुँदा उनीहरूले स्वास्थ्य सेवा ऐन, २०५३ अनुसारको दरबन्दी संरचना र स्वास्थ्य सेवा प्रवाहको सिद्धान्तविपरीत काममा कर्मचारी काजमा तान्दै आएका छन्।
काज फिर्ता गर्न नमानेपछि कर्मचारी खोज्दै मन्त्रालय
सचिवस्तरीय निर्णय गरेर सेवा सुविधा कटौती गर्ने निर्णयलाई कर्मचारीले नटेरे पछि मन्त्रालयका प्रवक्ता डा बुढाथोकी देशभर स्वास्थ्यका कति कर्मचारी काजमा छन् भन्ने अध्ययन गरेर मात्र लागू गर्ने बताउँछन्।
‘कतिजना हुनुहुन्छ त्यो खोज्दै छौँ। त्यसपछि मात्र कार्यान्वयनमा लैजान्छौँ। हिजो दरबन्दी खाली भएर काम रोकिएपछि राखिएका कर्मचारी हुन्,’ उनले भने, ‘काज फिर्ता भएपछि उनीहरूले गरिरहेको त्यो काम रोकिन्छ। कर्मचारीलाई तत्काल काज फिर्ता गर्दा सेवा नै रोकिन सक्छ। सबै बुझेर मात्र साउन देखि लागू गर्छौं।’
तीन महिनादेखि बिदामा डा संगीता मिश्र
स्वास्थ्य सचिव बढुवामा असन्तुष्ट बनेकी अतिरिक्त सचिव डा संगीता मिश्र तीन महिनादेखि बिदामा बसेकी छन्। फागुन २२ गतेदेखि बिदामा बसेकी मिश्र मन्त्रालयले तोकेको काममा फर्किएकी छैनन्।
मन्त्रालयका प्रवक्ता डा बुढाथोकीका फागुन २२ गतेदेखि बिदामा बसेको बताउँछन्।
‘पहिला उहाँ घर बिदामा बस्नु भएको थियो, घर बिदा सकियो। अब भैपरी आउने बिदामा बस्नु भएको छ। भैपरी आउने बिदा पनि सकिन लाग्यो। अब मन्त्रालयमा हाजिर हुन आउनु भएन भने कारबाही प्रक्रिया अघि बढाउँछौँ,’ उनले भने।
मन्त्रालयका सचिव डा रोशन पोखरेल अनिवार्य अवकाशमा गएपछि मिश्रसहित अतिरिक्त सचिवद्वय डा विकास देवकोटा र डा टंकप्रसाद बाराकोटीलाई बढुवाका लागि सिफारिस गरेको थियो। जहाँ मिश्र एक नम्बरमा थिइन् भने देवकोटा दुई र बाराकोटी तीन नम्बरमा थिए।
तर, डा देवकोटा सचिवमा नियुक्त भए। त्यसपछि डा मिश्र रुष्ट बनेकी थिइन्। वरिष्ठताको क्रममा अगाडि भए पनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्रले चैत १ गते सर्वोच्चमा रिट निवेदन दिएकी थिइन्। जसमा सर्वोच्चले डा मिश्रको माग अनुसार अन्तरिम आदेश दिए।
त्यसयता डा मिश्र स्वास्थ्य मन्त्रालय गएकी छैनन्। प्रवक्ता डा बुढाथोकी बिदा सकिएपछि मन्त्रालय नआउनुको विकल्प नभएको बनाए।
Shares

प्रतिक्रिया