समाज


ज्वरोका बिरामी सजिलै भर्ना, पीपीईसमेत अस्पतालमै तयार, यसरी विश्वास जित्दै छ भक्तपुर अस्पताल

ज्वरोका बिरामी सजिलै भर्ना, पीपीईसमेत अस्पतालमै तयार, यसरी विश्वास जित्दै छ भक्तपुर अस्पताल

रमेश गिरी
चैत २७, २०७६ बिहिबार ४:८,

कोभिड-१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले ९ सय ५६ जना अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको छ।

अधिकांश जिल्लाका निजी अस्पतालले बिरामीको ज्वरोसमेत नहेरी ढोकाबाटै फर्काइरहेको अवस्थामा भक्तपुर अस्पतालले भने आएका कुनै पनि बिरामीलाई नफर्काइ ओपिडी सेवासमेत सञ्चालन गर्दै आएको छ।

भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमले कोभिड–१९ को परीक्षण एवं आइसोलेसन छुट्टै सञ्चालन गरिएको र अन्य बिरामीका लागि छुट्टै व्यवस्था गरेर सेवा प्रवाह गरिरहेको जानकारी दिइन्।

अस्पतालमा दैनिक ओपिडी, अल्ट्रासाउण्ड, प्रसूति सेवा नियमित सञ्चालन भइरहेको छ। लकडाउनकै अवधिमा पनि हड्डी भाँचिएको, एपेन्डीसाइड, सिजनर (प्रसूति) का शल्यक्रिया भइरहेको गौतमले जानकारी दिइन्।

‘मान्छे बिरामी भएपछि नै अस्पताल आउने हो, निजी अस्पतालले हेर्दै हेरेन, फर्कायो भन्दै आइरहेका छन्,’ उनले भनिन्, ‘हामीकहाँ आउने बिरामीलाई फर्काएका छैनौँ, स्वास्थ्य परीक्षण, मनोपरामर्श, ओपिडी सेवादेखि आवश्यक पर्दा शल्यक्रियासमेत गर्दै आएका छौँ।’

अस्पतालले फिबर क्लिनिक सञ्चालन गरेको छ। बिरामीलाई ढोकामै ज्वरो नापेर थप स्वास्थ्य परीक्षण एवं उपचार गर्ने गरिएको छ। अरु बेलामा निजी अस्पतालमा बिरामी पठाएर सिफारिस केन्द्र बन्यो भनेर आलोचना भइरहेको भक्तपुर अस्पताल सङ्कटको बेलामा भने आम नागरिकको भरोसाको केन्द्र बन्दै गएको स्थानीय बताउँछन्।

यहाँ बीमाका बिरामीसमेत उपचारका लागि आउने गरेका छन्। यस अवधिमा बीमाका बिरामीले अस्पतालको फार्मेसीबाट ९० हजारको औषधि लगेका छन्।

सरकारले भक्तपुर अस्पताललाई कोरोना हब अस्पताल घोषणा गरेपछि कोरोनाको परीक्षण एवं उपचारका लागि अस्पताल पनि सक्रिय बन्दै आएको छ।

अस्पतालमा हाल चार शय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेर कोरोना परीक्षणसमेत हुने गरेको छ। आवश्यक पर्दा थप १० शय्यालाई आइसोलेसन बनाउन सकिने गरी तयारी अवस्थामा राखिएको छ।

अहिलेसम्म विदेशबाट फर्किएका ८२ जनाको नमूना सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएको छ। त्यसमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र २२ जनाको रिपोर्ट आउन बाँकी रहेको गौतमले जानकारी दिइन्।

अस्पतालको आइसोलेसनमा दैनिक दुई शङ्कास्पद बिरामीको उपचार हुने गरे पनि रिपोर्ट नेगेटिभ आएपछि घर पठाउने गरेको छ। अस्पताल आफैँले पनि व्यक्तिगत सुरक्षा कवच (पिपीई) खरिद गरेको र अन्य निकायबाट केही पिपीइ सहयोग आए पनि अभाव भने भइरहेको गौतमको भनाई छ।

अस्पतालमा मास्क, ग्लोब्स, पिपीइलगायतका अत्यावश्यक सामग्री अभाव भएपछि अस्पताल आफैँले कपडाको मास्क सिलाएको छ भने पिपीइसमेत आफैँले एक टेलरमा सिलाउन तयारी गरेको छ।

मेसु डा.गौतमले विभिन्न निकायबाट आएको पिपीइ सकिएर समस्या आएपछि पिपीइमा प्रयोग हुने गुणस्तरीय कपडा ल्याएर टेलरलाई सिलाउन तयारी अवस्थामा राखिएको जानकारी दिइन्। सङ्घीय सांसद् एवं पूर्वमन्त्री महेश बस्नेतले मङ्गलबार सो अस्पताललाई नौ थान पिपीइ हस्तान्तरण गरेका छन्।

कोरोना परीक्षणमा रहेका चिकित्सकदेखि स्वास्थ्यकर्मीलाई अस्पतालमै खाने तथा बस्ने व्यवस्था गरिएको छ भने ज्वरो आएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ।

अस्पतालमा कोभिड बुथसमेत राखेर सुरक्षितरूपमा बुथबाट नमूना सङ्कलन गर्न शुरु गरेको छ। अस्पतालमा आइसीयू सञ्चालनका लागि सरकारले एक करोड पठाएको जानकारी दिँदै डा गौतमले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालसहितको टोली आइसीयू सञ्चालन र सेवा वृद्धिका लागि खटिएको बताइन्।

अस्पतालले कोभिड–१९ का बिरामीका लागि दुई भेन्टिलेटर आवश्यक पर्दा तत्काल सञ्चालन गर्न सकिने गरी तयारी अवस्थामा राखेको छ भने थप दुई भेन्टिलेटर शल्यक्रिया कक्षमा सञ्चालनमा राखेको छ।

अस्पतालले पाँच शय्याको आइसीयू सञ्चालनका लागि सरकारले निर्धारण गरेको मूल्यमा सामान खरिदको तयारी गरिरहेको छ। आइसीयूका लागि आवश्यक कम्तीमा छ चिकित्सक, एक एनेस्थेसिया र कम्तीमा १६ नर्सको व्यवस्था भने करारमै भए पनि गर्नुपर्ने अबस्था आएको डा. गौतमको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad