इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी भायनेट कम्युनिकेशन प्रालिको ग्राहकहरुको सूचना प्रणालीमा साइबर घटना भएको छ। कम्पनीका अनुसार केही व्यक्तिगत डाटा नाम, ठेगाना, इमेल ठेगाना र फोन नम्बरहरुमा अनधिकृत घुसपैठ भएको फेला परेको हो।
कम्पनीले यसबारे विज्ञप्तिमा भनेको छ, ‘हामीले डाटा उल्लंघनको स्रोत पहिचान गरी त्यसको रोकथाम गरिसकेका छौं। हाम्रो प्राविधिक टोलीले भविष्यमा हुनसक्ने यस्ता सम्भावित कमजोरीहरुमा नजर राख्न र आवश्यक सुरक्षाको व्यवस्था पनि कार्यान्वयनमा ल्याइसकेको छ।’
उक्त घटनाबारे कम्पनीले प्रहरीको साइबर क्राइम ब्यूरोसँग सम्पर्कमा रहेको जनाएको छ। ब्युरोसँग ती डाटाहरु अपलोड भएको ठेगाना पत्ता लगाउन अनुरोध गरेको छ। घटनाबारे कम्पनीको आन्तरिक टोली, साइबर सेक्युरिटी विज्ञले पनि छानबिन गरिरहेको जनाएको छ।
कम्पनीले ग्राहकलाई सावधानी अपनाउन आग्रह गर्दै नचिनेको नम्बरबाट आएको कल र एसएमएसको जवाफ नदिन आग्रह गरेको छ। त्यस्तै गैरप्रमाणित एवं शंकास्पद इमेल नखोल्न र व्यक्तिगत जानकारी यस्ता स्रोतहरुलाई नदिन पनि आग्रह गरेको छ।
कम्पनीले भायनेटको आधिकारिक फोन नम्बर ९८०१०४६४१०, ०१–५९७०४४४ वा ०१४२१७५५५ सेभ गरेर राख्न पनि ग्राहकलाई सूचित गराएको छ।
भायनेटको नाममा आउने इमेलमा एटदरेटपछि ‘भायनेट डटकम डट एनपी’ रहे नरहेको सुनिश्चित गर्न पनि अनुरोध गरिएको छ। यसबाहेक कम्पनीलाई ०१५९७०४४४ र ९८०१०४६४१० मा समस्या जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया