समाज


भारतमा संक्रमित बढेसँगै सीमामा कडाइ, सशस्त्रको ८ सय चेकपोस्ट थप

भारतमा संक्रमित बढेसँगै सीमामा कडाइ, सशस्त्रको ८ सय चेकपोस्ट थप

उजिर कार्की
चैत २७, २०७६ बिहिबार १५:४९,

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा नाकामा कडाइ गर्न सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ।

भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२ सय ८० जना जनशक्ति थप गरिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रविन श्रेष्ठले बताए।

सशस्त्रले जनशक्तिसँगै सीमा नाकामा चेकपोस्ट पनि थप गरेको छ। यसअघि भारतीय सीमामा सशस्त्रका १ सय २० वटा मात्रै चेकपोस्ट रहेकोमा ८ सय ५ वटा अस्थायी चेकपोस्ट थप गरिएको छ। अब सीमानामा सशस्त्रका मात्रै ९ सय २५ वटा चेकपोस्ट पुगेको डीआईजी श्रेष्ठले बताए। काठमाडौंबाट थप जनशक्ति पठाएसँगै करिब साढे पाँच हजार सशस्त्र सीमामा खटिएका छन्।

भारतमा जोखिम बढ्दै गएको र नेपाल सुरक्षित देखिएकाले भारतबाट नेपाल आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमामा कडाइ गरिएको हो।

जोखिम बढ्दै गए थप जनशक्ति पठाउने र चेकपोस्ट पनि अझै थपिने डीआईजी श्रेष्ठले नेपालखबरलाई बताए।

सशस्त्रले काठमाडौंका तालिमकेन्द्र, बाहिनी र तालिम सकेर बसेका टोलीलाई सीमामा खटाएको हो। जनशक्ति र चेकपोस्ट थपे पनि भारतसँग नेपालको सघन सम्बन्ध र आउजाउका कारण मुख्य जोखिम रहेको सुरक्षा अधिकारीहरुले बताए।

प्रदेश १ का सीमा नाकामा कडाइ गरिएको त्यहाँका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बताए। खुल्ला सीमा नै मुख्य जोखिम भएकाले हाल सीमामा नेपाल प्रहरी समेत परिचालन गरिएको छ। झापा, मोरङ, सुनसरी र इलाममा १ सय ५१ ठाउँमा आवतजावत गर्न सकिन्छ। यी ठाउँमा अस्थायी चेकपोस्ट स्थापना गरिएको छ।

यस्तै, सीमानामा क्वारन्टिन समेत थपिरहेको मन्त्री कार्कीले बताए।

armed-police-at-border1.jpg

यता प्रदेश २ को सप्तरीमा पनि सशस्त्र प्रहरीले ४१ वटा चेकपोस्ट थप गरेको छ।

सशस्त्र प्रहरीका सप्तरी प्रमुख एसपी उद्धव न्यौपानेका अनुसार यसअघि जिल्लामा २५ ठाउँमा सशस्त्र प्रहरीका चेकपोस्ट रहेकोमा हाल ६६ ठाउँमा राखिएको छ।

यसबाहेक पनि मोबाइल गस्ती टोली खटाइएको एसपी न्यौपानेले बताए। लकडाउन कार्यन्वयन गर्न भारतीय प्रहरीसँग पनि समन्वय गरिएको छ। भारतसँग बस्ती मिसिएका ठाउँ बाहेक अन्यत्रबाट प्रवेश गर्ने अवस्था नरहेको न्यौपानेले बताए।

कन्चनपुरमा पनि सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाइएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए। औपचारिक सीमा लकडाउनसँगै बन्द गरिएको छ। अन्य नाकामा २४ सै घण्टा गस्ती बढाइएको सीडीओ खतिवडाले बताए।

कन्चनपुरमा बिहीबारबाट भारतीय नाकाबाट तरकारी बोकेका गाडीको आवात जावतसमेत रोकिएको छ।

नेपाल र भारतको बीचमा १ हजार ८ सय ८० किलोमिटर लामो सीमा छ। सबै ठाउँमा सुरक्षा निकायले रोक्न नसक्ने भएकाले सीसी क्यामराबाट समेत निगरानी गर्नु पर्ने सीमाविद बुद्धिनारायण श्रेष्ठको सुझाव छ। यस्तै नेपाल भित्रिन सक्ने अवस्थालाई हेरेर सीमामा सुरक्षाकर्मी समेत थप्नु पर्ने उनले बताए।

armed-police-at-border2.jpg

भारतमा जोखिम बढ्दै गएपनि सीमा क्षेत्रका नागरिक समेत आफ्नो देशमा प्रवेश गर्न नदिन सक्रिय भएका छन्। स्थानीयकै सहयोगमा बिहीबार नेपाल प्रवेश गर्न लागेका १ सय ९४ जनालाई सर्लाहीको मलंगवास्थित सोनबर्सा नाकामा रोकिएको छ।

मुख्य नाका बन्द भएपछि चोरबाटो भएर नेपाल प्रवेश गर्न खोज्दा स्थानीयले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपाल प्रवेश गर्न खोज्ने २७ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी क्वारन्टिनमा राखेका छन्।

सर्लाहीमा नेपाल भारतको ५१ किलोमिटर खुल्ला सीमा छ। त्यही खुला सीमाको फाइदा उठाउँदै ती नागरिकहरु नेपाल भित्रिन खोजेका थिए।

चैत ११ गते लकडाउनको घोषणा भएसँगै २ हजार बढी नेपाली भारतीय सीमानामा रोकिएका छन्। उनीहरुलाई समेत सरकारले नेपाल आउन दिएको छैन। ती नेपालीलाई भारतीय पक्षले नै खाना र आवासको व्यवस्था गरेको छ।

यता नेपालमा पनि करिब ७ सय भारतीय सीमा क्षेत्रमा रोकिएका छन्। उनीहरुलाई नेपालले नै खाना र आवासको व्यवस्था गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .