समाज


हुँदै नभएको विद्यालयको भवन देखाएर ७ लाख ६० हजार घोटाला

हुँदै नभएको विद्यालयको भवन देखाएर ७ लाख ६० हजार घोटाला

नेपालखबर
असार १९, २०८२ बिहिबार १५:४२, काठमाडौँ

डोल्पामा काल्पनिक विद्यालय खडा गरेर भवन निर्माणका लागि भन्दै ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको भेटिएको छ ।

जिल्ला प्राविधिक कार्यालय, दुनै, डोल्पाका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढासमेतले आपसी मिलेमतो तथा योजनामा दुनै गाविस वडा नं २ र ३ मा विद्यालय नै नभएको दुर्गा प्राथमिक विद्यालयको नाममा २ कोठे भवन निर्माणको लागि ७ लाख ६० हजार रुपैयाँ निकासा गरी हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियारका अनुसार तत्कालीन दुनै गाविस २ र ३ का कुनै पनि वडा र बस्तीमा दुर्गा प्रावि तिप्ला नरहेको पाइएको हो।

उक्त विद्यालयको नाममा योजना पारेको तर विद्यालय भवन नबनाई रकम अनियमितता गरेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो। 

अनुसन्धानका क्रममा दुर्गा प्राथमिक विद्यालयको नामबाट हालसम्म कुनै पनि विद्यालय सञ्चालनमा नरहेको, डोल्पाको ठूलीभेरी नगरपालिका–४ साविक दुनै गाविस वडा नं. २ र ३ मा एउटै मात्र श्री लालिगुँरास आधारभूत विद्यालय रहेको, विद्यालय निर्माणको लागि आव २०६७।०६८ मा शान्ति तथा पुननिर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको जिल्ला शिक्षा कार्यालय, डोल्पाले जनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको प्राविधिक टोलीले गरेको स्थलगत अध्ययनबाट पनि काल्पनिक दुर्गा प्राथमिक विद्यालयको नाममा २ कोठे भवन निर्माणको लागि रकम विनियोजन गरी काल्पनिक उपभोक्ता समिति गठन गरे गराएको स्पष्ट पारेको थियो। 

अख्तियारले जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर रविचन्द्र पजियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ता छानासहितको २ कोठे भवन निर्माण गरेको भनी झुट्टा तथा नक्कली कागजात तयार गरी गराई चेकमार्फत ७ लाख ६० हजार रुपैयाँ भुक्तानी दिएको जनाएको छ। 

सो कार्यमा संलग्न इन्जिनियर पजियारसहित लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad