समाज


सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त, सवा २ करोड भ्रष्टाचार भएको ठहर

सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त, सवा २ करोड भ्रष्टाचार भएको ठहर

सहायक रथी रोशन खड्का


उजिर कार्की
असार १९, २०८२ बिहिबार १६:४७, काठमाडौँ

नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन्।

सैनिक विशेष अदालतले बिहीबार सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाटै बर्खास्त गर्ने फैसला सुनाएको हो। 

‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ’, सैनिक उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘अपचलन भएको रकम निजहरुबाट असुलउपर गर्ने पनि फैसला भएको छ।’

सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको (कोर्टमार्सल) थियो। 

अवकाश भइसकेका दुई जनासहित चार जनाले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको सैनिक अदालतले ठहर गरेको हो। कोर्ट अफ इन्क्वायरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल अगाडि बढाइएकोमा दुवै जना दोषी ठहर भएका हुन्।

सेनाबाट अवकाश भइसकेका दुई जनालाई भने कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको जिम्मा दिइएको थियो।
जसमा प्रहरीले अनुसन्धान सकेर अदालतमा पुद्दा पुगेको थियो।

सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तत्कालीन् सेनानी लक्ष्मण अधिकारी भने अवकास भएर अमेरिकामा छन्। उनलाई पक्राउ गरेर ल्याउन इन्टरपोलको सहयोग मागिएको छ। 

उनीहरु चार जना सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमाबापतको रकम हिनामिना गरेको अभियोग थियो। 

शाखामा रहँदा वास्तविक रुपमा भुक्तानी गर्नुपर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरुको संलग्नता पुष्टि भएको हो। 

२०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ गतेसम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको अभियोग थियो। 

सहायक रथी खड्का त्यतिबेला प्रमुख सेनानी र बोधराज कार्की सेनानी हुँदा सँगै कार्यरत थिए। 

अवकाशप्राप्त जमदार थापाले यसरी नक्कली कागजात खडा गरेर भुक्तानी गर्ने कार्य सहायक रथी खड्का समेतको निर्देशनबमोजिम नै गरेको बयान दिएका थिए।  हिनामिना गर्दा काटिएका चेक अधिकांश थापाकै नामबाट भुक्तानी भएको भेटिएको छ। 

थापाले कल्याणकारी कोषको रकम हिनामिना गर्दा काटेका ४० वटा चेकको फोटोकपी र रकमको विवरण समेत प्रहरीलाई पनि बुझाएको थियो। यसअघि सेनाले कोर्टअफ इन्क्वायरी गरेको थियो। कोर्ट अफ इन्क्वायरीको ४३ पानाको रिपोर्ट पनि प्रहरीलाई पनि दिएको थियो।

बहालवाला सैनिकको हकमा सैनिक ऐन अनुसार फैसला भएको हो। 

कल्याणकारी कोषको रकम नेपाल बैंक त्रिपुरेश्वरको शाखाबाट लिने गरेका थिए। त्यसरी भुक्तानी लिइसकेपछि उक्त रकम खड्का, अधिकारी र कार्कीलाई आत्मारामले बुझाउने गरेका थिए। 

त्यस्तो फर्जी काम गरेबापत आत्मारामलाई विदामा सहुलियत, पेट्रोलको कुपन र क्यान्टिनमा खाजाको रकम तिरिदिने गरेको खुलेको छ। 

सैनिक कल्याणकारी कोषको ४ लाखभन्दा बढी रकम निकाल्न सहायक रथीको हस्ताक्षर आवश्यक हुन्छ भने त्यो भन्दा कमको रकम निकाल्न कम्तीमा २ जना अधिकृतको हस्ताक्षर आवश्यक पर्ने कानुनी व्यवस्था छ। 

अवकाश हुने सैनिकले उपदानबापत पाउने बिमा तथा आवासको रकम बुझिसकेपछि स्वयंले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ। तर यी चार जनाले भने विभिन्न व्यक्तिको नाममा लिएको रकममा आफैँ हस्ताक्षर गरेर झिकेको खुलेको छ। 

आत्मराम थापाले यसअघि सैनिक छानबिनका क्रममा ३० लाख रुपैयाँ आफूले अपचलन गरेको स्वीकार गरेको सेनाको दाबी छ। अर्का प्रतिवादी लक्ष्मण अधिकारी भने दुई वर्षपहिले नै अवकाश भएर अमरिका पुगेका छन्। उनीविरुद्ध पनि सैनिक ऐन आकर्षित नहुने भएकाले आवश्यक कारबाही गर्न सेनाले प्रहरीलाई पत्र पठाएको थियो। उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भइसकेको छ। 

जिल्ला अदालतमा मुद्दा दायर गरिएका दुई जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ बमोजिम आपराधिक विश्वासघात गर्न नहुने कसुरमा कारबाही माग गरिएको छ। यस्तै अपचलन भएको रकम बिगो भराउन पनि माग गरिएको छ। उक्त दफा अनुसार कसुर पुष्टि भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad