पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन भएको छ।
उनको ‘कार्डियाक अरेस्ट’का कारण शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो। उनी २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्।
शर्माको २०२३ साल कात्तिकमा जन्म भएको थियो। उनको बाल्यकाल भने भारतकाे बनारसमा बितेकाे थियाे। उनको दाहसंस्कार भोलि गरिनेछ। उनका दुई छोरी छन्।
पूर्वनिर्वाचन आयुक्तका साथै उनी पूर्वपत्रकार समेत हुन्। २०४५ सालमा दि राइजिङ नेपाल अङ्ग्रेजी दैनिकको उपसम्पादकको रूपमा सेवा प्रवेश गरेकी उनले सक्रिय पत्रकारका रूपमा करिब १३ वर्ष बिताएकी थिइन्।
उनको घरतिरको पारिवारिक पृष्ठभूमि पनि पत्रकारितासँग जोडिएको थियो। उनका ससुरा रामराजा पौड्याल पनि पत्रकार थिए।
शर्माका श्रीमान् नवराज पौडेलको भने माओवादी युद्धकालमा हत्या भएको थियो। नवराज नेपाल प्रहरीमा कार्यरत थिए।
उनले फूड फर्स्ट इन्फर्मेशन एक्शन नेटवर्क (एफआईएएन) नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडिया (एसएडब्लूएम) को कार्यकारी समितिमा रहेर पनि काम गरेकी थिइन्।
त्यस्तै शर्माले सिटिजन्स बैंक र नबिल बैंकको सञ्चालककको रुपमा समेत काम गरेकी थिइन्।
Shares

प्रतिक्रिया