समाज


रास्वपाले पार्टी पंक्तिलाई भन्यो- विपद्का घटना हुँदा उद्धार र राहतमा जुट्नू

रास्वपाले पार्टी पंक्तिलाई भन्यो- विपद्का घटना हुँदा उद्धार र राहतमा जुट्नू

नेपालखबर
असार ३०, २०८२ सोमबार १०:२१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना हुँदा उद्धार र राहतका काममा जुट्न पार्टीपङ्तीलाई आह्वान गरेको छ। 

पार्टीका कार्यवाहक सभापति डोल प्रसाद अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्न थालेका र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने भएकाले सचेत रहन पनि आह्वान गरेको छ। 

‘मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठूलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाउँछन्,’ अर्यालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मौसम विज्ञान विभागलेसमेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने पूर्वानुमान गरिसकेको सन्दर्भमा हामी सबै थप सचेत र पूर्व तयारीमा जुट्नुपर्ने आवश्यकता टड्कारो देखिएको छ।’

उनले विपद्को समयमा मानवीय सेवाको भावनाले नागरिकको सेवा गर्नु सबैको कर्तव्य हुने पनि बताएका छन्।

‘यही मर्मलाई आत्मसात् गर्दै, मनसुनको समयमा आउन सक्ने सम्भावित विपद्का घटनाहरूको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरूमा सक्रियतापूर्वक जुट्न पार्टीका सम्पूर्ण तहका समिति, विभाग, सदस्य तथा शुभेच्छुकहरूमा विशेष आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

रास्वपाले विपद्का घटनाबाट जोगिन आ-आफ्नो क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको जोखिममा रहेका स्थानहरूको पहिचान गरी स्थानीयवासीलाई सचेत गराउन आह्वान गरेको छ। 

यसका लागि निम्न कार्यहरूमा ध्यान केन्द्रित गर्न अनुरोध छ
१. विपद् पूर्वको तयारी
•    आ-आफ्नो क्षेत्रमा रहेका जोखिमयुक्त बस्ती, नदी किनार र पहिरोको जोखिममा रहेका स्थानहरूको पहिचान गरी स्थानीयवासीलाई सचेत गराउने।
•    स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना) र स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग निरन्तर समन्वय गर्ने।
•    तत्काल आवश्यक पर्ने सामग्रीहरू (जस्तै: त्रिपाल, डोरी, टर्चलाइट, प्राथमिक उपचार बाकस, ड्राइफुड) को व्यवस्थापनका लागि स्वयंसेवी रूपमा तयारी गर्ने।
•    हरेक वडा तथा पालिकास्तरमा 'स्वयंसेवक समूह' तयारी अवस्थामा राख्ने ।
•    सामाजिक सञ्जाल र अन्य माध्यमबाट विपद् पूर्व अपनाउनुपर्ने सावधानीबारे सचेतनामूलक सन्देशहरू प्रवाह गर्ने।

२. विपद् पश्चात्को प्रतिकार्य
•    घटना भएको जानकारी पाउनासाथ स्थानीय निकाय र सुरक्षाकर्मीसँगको समन्वयमा तत्काल उद्धार कार्यमा जुट्ने।
•    पीडित तथा प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्न र अस्थायी आश्रयस्थलको व्यवस्थापनमा सहयोग गर्ने।
•    संकलन भएका राहत सामग्रीहरू (खाद्यान्न, लत्ताकपडा, औषधि, स्वच्छ पानी) को निष्पक्ष र पारदर्शी ढंगले वास्तविक पीडितसम्म पुर्‍याउने व्यवस्था मिलाउने।
•    घाइतेहरूको प्राथमिक उपचार र अस्पतालसम्म पुर्‍याउन सहजीकरण गर्ने।
•    प्रभावितहरूको तथ्याङ्क संकलनमा स्थानीय तहलाई सहयोग गरी कोही पनि नछुटुन् भन्ने सुनिश्चित गर्ने।

विपद्को यो घडीमा दलीय स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नागरिकको जीवन रक्षा गर्नु हामी सबैको साझा जिम्मेवारी हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सदस्यहरूलाई उच्च सतर्कता अपनाउँदै, मानवीय सेवाको उच्चतम भावनाका साथ सम्भावित विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन हार्दिक अपिल गर्दछौँ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad