भिजिट भिसामा पैसा उठाउने सेटिङ गरेर मान्छे पठाएको आरोपमा अख्तियारको छानबिनमा परेपछि विमानस्थल अध्यागमन कार्यालय बदनाम भयो। यो कार्यालयको कामले कर्मचारी मात्रै अख्तियारको रेडारमा परेनन्, प्रधानमन्त्री र गृहमन्त्रीमाथि नै प्रश्न उठ्यो।
जसलाई थामथुम पार्न सरकारले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति बनायो। तर यसपछि पनि न त सरकारमाथि उठेको प्रश्न साम्य भएको छ, न अध्यागमन कार्यालयमा नै सुधार देखिएको छ।
विमानस्थल अध्यागमन कार्यालयबाट अहिले पनि भिजिट भिसाको सेटिङमा मान्छेहरू उडिरहेको गुनासो आइरहेको छ। यही बेला मंगलबार गृहमन्त्री रमेश लेखकले अध्यागमन विभागका महानिर्देशक र विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत हेरफेर गर्ने निर्णय गरेका छन्।
यसअघि यी कार्यालयका प्रमुखलाई मन्त्रालयमा बोलाएर छलफल गरिएको थियो।
गृह मन्त्रालय स्रोतका अनुसार आइन्दा यस्ता गुनासा नआउने गरी योजना बनाएर कार्यान्वयन गर्न निर्देशन दिइए पनि अपेक्षित सुधार नदेखिएको र गुनासो पनि नरोकिएपछि मन्त्रीले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत परिवर्तन गरेका हुन्।
अध्यागमन विभागको महानिर्देशकमा गृह मन्त्रालयको सुरक्षा महाशाखा प्रमुख एवम् प्रवक्ता समेत रहेका सहसचिव रामचन्द्र तिवारीलाई खटाइएको छ।विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा सहसचिव नरहरि घिमिरे जाने भएका छन्। घिमिरे खोटाङको प्रमुख जिल्ला अधिकारीबाट विमानस्थल अध्यागमनमा सरुवा भएका हुन्।
अब सहसचिवद्वय तिवारी र घिमिरेलाई सेटिङले बदनाम अध्यागमनको साख फर्काउने चुनौती छ। तिवारीले यसअघि उपसचिव हुँदा पनि अध्यागमन विभागको निर्देशकका रूपमा काम गरिसकेका छन्। त्यतिबेला उनले सुधारका योजना ल्याएर लागू गराएकै कारण अहिले पनि पठाउने निर्णय भएको गृह मन्त्रालयका एक अधिकारीले बताए। यसअघि सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी, उद्योग विभागको महानिर्देशक लगायत विभिन्न कार्यालयमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका तिवारीमाथि कुनै आरोप लागेको छैन।
विमानस्थल कार्यालयमा खटाइएका घिमिरे खोटाङ जानुपहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। अख्तियारको प्रवक्ता समेत भइसकेका घिमिरेलाई विमानस्थल कार्यालयको जिम्मा दिन छोटो समयमै खोटाङबाट फर्काइएको हो।
अख्तियारले पूर्वप्रमुख तीर्थराज भट्टराईमाथि अनुसन्धान अगाडि बढाएपछि जेठ ७ गते विमानस्थल अध्यागमन कार्यालयको प्रमुखमा विष्णुप्रसाद कोइरालालाई खटाइएको थियो। तर कोइरालाको छोटो कार्यकालमा पनि सेटिङ नरोकिएको गुनासोपछि गृहमन्त्रीले दुई महिना नपुग्दै फिर्ता गरेका हुन्।
‘अध्यागमनमा सुधार गर्नु पर्यो भनेर पहिल्यैदेखि कुरा भएको हो। जान खोज्नेहरूमाथि विश्वास गर्न सकिएन। अध्यागमन विभागको महानिर्देशकमा तिवारी जान चाहनुभएको होइन, मन्त्री र सचिवले अनुरोध गरेर पठाउनु भएको हो,’ गृहका एक अधिकारीले नेपालखबरसँग भने, ‘अहिलेकै प्रमुख अधिकृतबाट विमानस्थलमा पनि सुधार सम्भव देखिएन भनेर त्यहाँका सहसचिवलाई फिर्ता ल्याइएको हो।’
अब जाने अध्यागमन अधिकृतसामु विगतको दाग मेटाउने र नयाँ योजना ल्याएर विश्वास जित्ने चुनौती छ। अध्यागमन विभागमा राम्रो अधिकारी पठाउँदैमा सुधार हुँदैन, विमानस्थलमा पनि सक्षम र सफा अधिकृत चाहिन्छ भनेर फेरबदल गरिएको गृहका अधिकारीको दाबी छ।
‘अध्यागमन कार्यालयलाई हेर्ने पहिल्यैदेखिको दृष्टिकोण राम्रो छ र त्यहाँ हुने बदमासीलाई पनि रोक्नु पर्ने चुनौती छ। आम मान्छेहरूलाई अध्यागमन विभागको जिम्मेवारी के हो र कसरी काम गर्छ भन्ने कुरा पनि बुझाउनु पर्ने छ। अर्को चाहिँ त्यहाँ हुने अनियमितता पनि पूर्णरूपमा नियन्त्रण गर्नुछ। अहिलेको मुख्य जिम्मेवारी यही हो,’ गृह मन्त्रालयका ती उच्च अधिकारीले भने।
अध्यागमन विभागका कर्मचारीले पहिले आफ्नो जिम्मेवारीलाई प्रस्टसँग बुझ्नु पर्ने उनले औँल्याए।
‘अध्यागमन विभागले व्यक्तिको हैसियत जाँचेर भिसा भएका व्यक्तिलाई रोक्न थाल्यो भने समस्या हुन्छ। जब कर्मचारीलाई जान दिने र रोक्ने स्वविवेकीय अधिकार छाडिन्छ, त्यहाँ मोलाहिजा हुन्छ र समस्या निम्तिन्छ। यहाँ अधिकारको कुरा पनि प्रस्ट पार्नु पर्नेछ,’ विभागकै एक पूर्वप्रमुखले भने।
अध्यागमन विभागमा अब जाने कर्मचारीलाई भिजिट भिसामा जानेहरूलाई रोक्ने कि पठाउने भन्ने विषयमा पनि प्रस्ट गाइडलाइन हुनु पर्ने उनको सुझाव छ।
‘हामीले घुम्नसक्ने हैसियतको थियो कि थिएन भनेर हेर्ने भन्दा पनि अन्तर्राष्ट्रिय सुरक्षाका आयमहरू हेर्न पर्यो। भिसा भइसकेको मान्छे सबै कागजात ठिक छन् भने त्यसलाई रोक्न मिल्दैन। कागजात ठिकठाक भएको मान्छे पठाउन पर्यो तर पैसा खाएर पठाउने काम गर्नु भएन, यति गरे अध्यागमनको छविमा सुधार आउँछ,’ उनले भने।
अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी पाएका तिवारीले देखिने गरी नै सुधार गर्ने बताए।
‘आज भर्खरै सरुवा भएको छ। अहिले मैले धेरै गफ दिन सुहाउँदैन। तर अध्यागमनमा देखिने गरी नै सुधार गर्छौँ, यत्ति चाहिँ भन्छु,’ तिवारीले नेपालखबरसँग भने।
यस्तै गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयमा कर्मचारीको सेट नै परिवर्तन गर्ने तयारी गरिरहेको छ। लोकसेवाबाट आएका फ्रेस अधिकृतहरूलाई विमानस्थलमा खटाउने तयारी भइरहेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।
‘विमानस्थलमा कर्मचारीबाटै समस्या भएको देखिन्छ। पैसामा लिप्त भएको मान्छे राखेर सुधार हुँदैन भनेर फ्रेस अधिकृत खटाउने तयारी भइरहेको छ। ४० भन्दा बढी नयाँ कर्मचारी त्यहाँ पठाउने तयारी गरिरहेका छौँ,’ गृहका अधिकारीले भने।
उनका अनुसार विभागका नयाँ महानिर्देशक तिवारीले नै आफू त्यहाँ जाने हो भने निष्कलंक कर्मचारी खटाउनु पर्ने माग गरेका थिए। तिवारीले नै दाग लागेका कर्मचारीबाट सुधार गर्न सकिँदैन भनेकाले फ्रेस कर्मचारी पठाउने गृहकार्य गरिरहेको स्रोतले जनाएको छ।
Shares

प्रतिक्रिया