आज बाजुरामा भएको जिप दुर्घटनामा घाइते थप एक यात्रुको पनि मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी हिमाली गाउँपालिका- ५ की ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।
जिपमा सवार १९ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमै मृत्यु हुनेमा ७६ वर्षीय विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकाया छन्।
घाइतेमध्ये १३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अरु तीन जना घाइतेको अवस्था सामान्य रहेको चौधरीले बताए।
घाइतेलाई अस्पताल पुर्याउँन नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए। त्यसका लागि गृह मन्त्रालयमा पत्र पठाइसकेको उनको भनाई छ।
अहिलेसम्म घाइतेको क्युडीको टुनीगडामा गाउँपालिकाका स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्। समयमै राम्राे उपचार नहुँदा धेरै घाइतेकाे अवस्था नाजुक बन्दै गएकाे छ।
बिहान ९ बजे स्थानीयले टेलिफोन गरेर दुर्घटनाको जानकारी दिएका थिए। दुर्घटनाको ६ घण्टा बितिसक्दासमेत घाइतेले राम्रो उपचार पाउन सकेका छैनन्।
स्थानीय क्युडी गाउँबाट वडा नम्बर ५ को वडा कार्यालयतर्फ आउँदै गरेको बा.प्र ०३–००१ ज ०३३८ नम्बरको जिप टुनीगडामा दुर्घटनामा परेको हो। जिप भित्री कच्ची सडकबाट करिब तीनसय मिटर तल खसेको छ।
Shares

प्रतिक्रिया