पूर्व नवयुवराज हृदयेन्द्र शाहलाई गीत गाएर कर्णाली तथा जुम्लाको बारेमा चिनाएको भिडिओ अहिले सामाजिक सञ्जालमा चर्चित छ।
त्यसरी गीत गाउँदै उनलाई जुम्लाबारेमा चिनाउने पञ्चकली बुढा हुन। उनको घर जुम्लाको पातारासी गाउँपालिका-५ लासी हो।
पञ्चकली बुढाले दाइ र साथीहरुसँग चन्दननाथमा रहेको गुम्बामा घुम्न गएको बेला हृदयेन्द्र शाहसँग भेट भएको बताइन्।
उनले भनिन्, ‘गुम्बामा घुम्न गएको बेला उहाँ(हृदयेन्द्र)सँग भेट भयो। पहिला समाजिक सञ्जालमा देखेको थिएँ। उहासँग कुरा गर्न मन लायो। त्यसपछि कुरा गर्दै जुम्लाको बारेमा बताएको थिएँ।’
हृदयेन्द्रलाई कुरा गर्न अनुरोध गरेपछि सहजै स्वीकार गरेको पनि उनले सुनाइन्। ‘उहाँले कुरा गर्न स्वीकार गरेपछि जुम्लाको भेषभुषा, पर्यटकीय स्थलको बारेमा जानकारी गराएको थिएँ,’ बुढा भन्छिन्।
पञ्चकलीलाई हृदयेन्द शालीन र सहज व्यक्ति लागेका छन्। ‘उहाँ शालीन र सजह व्यक्ति लाग्यो,’ आफ्नो अनुभव सुनाउँदै उनले भनिन्, ‘बालबालिकादेखि वृद्धावृद्ध लगायतका व्यक्तिहरुसँग पनि खुलेर मज्जाले कुरा गर्ने, घुलमिल गरिहाल्ने हुनुहुँदो रहेछ। त्यो देख्दा र भेट्दा खुसी लाग्यो।’
अब थोरै पञ्चकली र हृदयेन्द्रबीचको भिडिओ संवादतिर फर्कौं।
पञ्चकलीः नमस्कार जुम्ला जिल्लामा स्वागत छ।
हृदयेन्द्र :थ्यांक्यु तपाईंको नाम?
पञ्चकलीः पञ्चकली बुढा, हजुरको?
हृदयेन्द्र: हृदयेन्द्र ....
पञ्चकलीः नाम त सुनेको हो। एकदमै खुसी लायो हजुरसँग भेट्न पाएँ।
पञ्चकलीः आजै आउनु भएको होर?
हृदयेन्द्र : आजै आएको।
पञ्चकलीः प्लेनमा आउँनुभएको ? प्लेनमा आउँदा हल्लाएनँ र?
हृदयेन्द्र : एकदम हल्लायो। डाँडातिर।
पञ्चकलीः हल्लाउछन् नी त्यो डाँडातिर।
पञ्चकलिले जुम्लाको चन्दननाथबाट देखिने विभिन्न ठाउँहरुको बारेमा जानकारी दिन्छिन्।
त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय, चन्दननाथ मन्दिर, जुम्लामा रहेको कान्जिरोवा हिमाल, त्यहाँबाट देखिने डाँडामा लाग्ने मेला पर्वको बारेमा जानकारी तथा जुम्ला जिल्लामा रहेका स्थानीय तहका बारेमा पनि जानकारी गराउँछिन्।
जुम्लाका पर्यटकीय स्थलहरुको बारेमा पनि जानकारी दिन उनले छुटाइनन्। जुम्लाकाट, डोल्पा तथा मुगुको रारा जाने बाटोको बारेमा पनि हृदयन्दलाई अबगत गराउँछिन्।
अनि, त्यतिकैमा एउटा गीत गाएर सुनाउँछिन्, जुन उनकै रचना हो। अनि, उनकै स्वर।
फल्छ मार्सी धान, संसारकै अग्लो ठाउँमा
केही सुन्दैनन कान, कर्णाली रोएको आवाज
हाम्रो सिंञ्जा द्वार, खष भाषाको उद्वगम स्थल
हुन्छ कठै बरा, राज्यको सौतेनी व्यवहार
पञ्चकलीका गीत सुनेर हृदयेन्द्र मन्द मुस्कानसहित आश्चार्य पर्छन्। त्यसपछि पञ्चकलीले जुम्लाका सबै ठाउँहरू घुमेर जानका लागि आग्रह गर्छिन्।
हृदयेन्द्रले उनका कुरा सुनिसकेपछि आफ्नो मोबाइल फोनमा चन्दननाथ बजार र डाँडापाखा कैद गर्छन्।
त्यसपछि पञ्चकलीले हृदयेन्द्रलाई यो देश कहिले सम्वृद्धि हुन्छ होला भन्दै प्रश्न पनि गर्छिन्।
जवाफमा हृदयेन्द्र भन्छन्- मान्छे सबैले राम्रा काम गरेपछि हुन्छ होला नी! अलिकति हामी पनि लाग्नु पर्यो।
उनले जुम्लामा पहिलो पटक जाँदा रमाइलो लागेको भन्दै खुसी व्यक्त गर्छन्। अनि, पञ्चकलीसँग विदा माग्दै छुटिन्छन्।
Shares

प्रतिक्रिया