राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै स्टेजबाट १४ वटा मौलिक तीज गीत सार्वजनिक गरिएको छ। राष्ट्रिय नाचघर जमलको हलमा आयोजित सामूहिक तीज गीत विमोचन समारोहमा एकै साथ १४ गीतको पोस्टर र भिडिओ विमोचन गरिएको हो।
कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी, प्रतिनिधिसभा सदस्य सोविता गौतमसँगै अतिथी कलाकारहरू गायक राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, सर्मिला गुरुङ, सीता थापा, टिका पुन, मन्जु थापाले गीतको विमोचन गरेका हुन्।
विमोचन हुने गीतहरूमा भगवान भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौँ’, भीमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’ , भीमकुमार ओझाको ‘नौगेडी’,कस्तुप पन्तको ‘पापी तीज भाग-२, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुश्बु सुनारको 'ए आमा ', यामप्रसाद निउरेको चोली फाटेको', गोविन्द पौडेलको माछा मासु केहि खाँदिन , मुना सुवेदी तिवारिको मेरो त देशै माइती भयो , माया पार्दे को चाहिदैन रानी हार , मदन ढकालको माइतीको दैलो , बिजय अनुरागी ए मैया, सन्जु न्यौपानेको निलो आकाशैमा बादलु रहेका छन्।
सांसद गौतमले गीत संगीतमा विकृती, विसंगती बढ्नु चिन्ताजनक विषय भएको भन्दै नेपालको मौलिकता देखाउने काम नै गीत संगीतले गर्ने भएकाले सम्पूर्ण सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन्। 'पछिल्लो समय भ्युजका लागि पनि गीतहरू केन्द्रित छन्। दीर्घकालीन सोचेर सर्जक आफैले ध्यान दिनुपर्ने हुन्छ' गौतमले भनिन्, 'सेन्सर बोर्डको चर्चा पनि धेरै कलाकारले गर्दै आउनु भएको छ। तर कसैको बन्दनमा रहनुभन्दा सर्जक आफैले संवेदनशील भएर उत्तरदायि भइयो भने त्यो धेरै राम्रो हुन्छ।'
उनले विमोचन भएका १४ गीतका सर्जक तथा कलाकारलाई बधाई दिइन्। समारोहमा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक गायनको क्षेत्रमा लामो योगदान पुऱ्याएको भन्दै मौलिक गायन सम्मान प्रदान गरियो।
सम्मान ग्रहण गर्दै न्यौपानेले खुसी व्यक्त गरिन्। उनले मौलिक गायनलाई आफुले सधै आत्मसाथ गर्ने बताइन्। उनी भन्छिन्, 'धेरै बाट समय परिवर्तन संगै परिवर्तन हुनुपर्छ भन्ने कुरा सुनिन्छ। हो, परिवर्तन हुनुपर्छ तर लोक, मौलिक पनलाई परिवर्तन गर्नुहुँदैन।'
त्यस्तै कलाकार गायक राजु परियारले कुनै पनि गीत सिर्जना गर्ने क्रममा सर्जकले लोकरसलाई भुल्न नहुने बताए। उनले लोक छ र त संस्कृति छ, लोकसंस्कृति छ र त लोकगीत छ भन्दै सर्जकले नै सिर्जना गर्ने समयमा ध्यान दिन आग्रह गरे। राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालले गीतसंगीतकै कारण कलाकार साइबर ब्युरोसम्म पुग्ने स्थिती नआओस् भन्दै सबै कलाकारलाई अस्लिलताभन्दा मौलिकतामा जोड दिन आग्रह गरे।

साथै उनले मिडियाहरूले पनि कतिपय गीतहरूको बारेमा समाचार नबनाइदिने हो भने त्यस्ता गीतको चर्चा पनि नहुने र हराएर जाने भन्दै मिडिया लाई पनि महत्वपूर्ण भूमिका खेल्न आग्रह गरे। समारोहमा गायक बद्री पंगेनी, गायिका शर्मिला गुरुङ, मन्जु थापालगायतले पछिल्लो समयका गीतहरू मा मौलिकता हराउँदै गएको र सर्जकहरूले ध्यान दिनुपर्ने धारणा राखे।
संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मौलिक गीत निर्माण गर्ने कलाकर्मीलाई थप हौसला प्रदान गर्नका लागि गीत छनोट गरेर १४ मौलिक तीज गीतलाई सामूहिक विमोचन गरिएको बताए।
आगामी दिनमा संस्थाले मौलिकताका लागी थप विभिन्न कार्यक्रम गर्दैजाने जानकारी दिए। उनले भने, 'कतिपय कलाकर्मीहरूले समाजमा अपाच्य गीतहरू सार्वजनिक गरेका कारण प्रशासनलाई त्यस्ता कुरामा ध्यान दिन आग्रह गरेका छौँ, त्यसैले गृह मन्त्रालयसम्म पुगेका हौँ। यो हाम्रो दायित्व पनि हो।'
संस्थाकी महिला विभाग प्रमुख सविता पोखरेलको संयोजनमा सम्पन्न कार्यकममा संस्थाका सचिव कमल सरगमले लोक संगीतको मर्मलाई मर्न नदिन सबैले ध्यान दिनुपर्ने बताए।
यस्तै संस्थापक अध्यक्ष गोविन्द गिरीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले विकृती फैलाउने गीतको बन्देजका लागि मात्र आफूहरू गृह मन्त्रालय नगएको र संगीत सेन्सर बोर्डको अवधारणाबारे प्रस्ताव गर्न गएको जानकारी गराए।
Shares

प्रतिक्रिया