राजनीति


सुनकोसी–मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री

सुनकोसी–मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैनः प्रधानमन्त्री

नेपालखबर
साउन १५, २०८२ बिहिबार १८:५८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको  काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने स्थिति रहेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताए। तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दा समेत नसकेको स्थिति रहेको बताए। 

प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा कामहरूमा ढिलासुस्ती छ। सुनकोसी मरिन डाइभर्सन दुई, तीन वर्षमा सक्नुपर्ने, पाँच, ६ वर्ष भइसक्यो, कति वटा पक्ष त्यसको शुरु नै भएको छ। यसै हिसावले गर्ने हो भने २५ वर्षमा पनि नसकिने गरी काम भइरहेको छ। यसमा ताकेता गरेर अघि बढाइरहेको छु। कामप्रति ठेकेदारलाई झक्झक्याइरहेको छु। दुई पटक ठेकेदार कम्पनी र मन्त्रालयका मानिसहरु राखेर पनि कुरा गरेँ, कसरी अघि बढाउने भनेर।’

प्रधानमन्त्री ओलीले अहिले जलवायु परिवर्तनको कारण अनौठो समस्या आइरहेको बताए। अन्नको भण्डार तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाईं हुन नसकेको बताए। 

देशभरमा अहिलेसम्म २५ लाख हेक्टर सिँचाइयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिँचाई पुर्‍याएको बताए। सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी ५ लाख हेक्टरमा मात्रै सिँचाइको सुविधा रहेको बताए।

सबै महिनामा सिँचाइ पुर्‍याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अरु ४० प्रतिशत मेहनत सिजनल सिँचाइका लागि पनि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको भनाई थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad