समाज


वडाध्यक्षकै घरमा बस्ने सर्तमा पोखराबाट फर्कियो हायु परिवार

वडाध्यक्षकै घरमा बस्ने सर्तमा पोखराबाट फर्कियो हायु परिवार

नेपालखबर
साउन १९, २०८२ सोमबार १५:५६, काठमाडौँ

घर छाडेर हिँडेको ११ दिनपछि हायु परिवार पोखराबाट फर्किएको छ। सोमबार दिउँसो उनीहरू सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ का वडाध्यक्ष रविन श्रेष्ठको साथमा फर्किएका हुन्। 

पोखराबाट फर्किए पनि उनीहरू आफ्नै पूराना घरमा भने नबस्ने भएका छन्। त्यो घरमा बिरामी भइरहेको भन्दै उनीहरू त्यहाँ बस्न मानेका छैनन्। उनीहरूलाई आफ्नै घरमा राख्ने शर्तमा वडाध्यक्ष श्रेष्ठले फर्काएका छन्। 

सोही वडाको सुँगुरेमा रहेको आफ्नो पूरानो घरमा तत्काललाई बस्ने व्यवस्था गर्ने अर्को ठाउँमा जग्गा किनेर नयाँ घर बनाइदिने शर्तमा वडाध्यक्ष श्रेष्ठले फर्काएका हुन्। 

‘अब उहाँहरू पहिलेको घरमा जानुहुन्न। तत्काल मेरै घरमा बस्नुहुन्छ। जग्गा खोजेर उचित ठाउँमा नयाँ घर बनाइदिन्छौँ, अनि त्यहाँ सर्नुहुन्छ’, पोखराबाट १९ जनाको हायु परिवार लिएर बाटो लागेका श्रेष्ठले नेपालखबरसँग भने। 

सुरुमा घर छोडेका १६ जना र तीन आफन्तसहित १९ जना सिन्धुली फर्केका हुन्।

हायु परिवार लिन श्रेष्ठ सोमबार बिहान मात्रै पोखरा पुगेका थिए। त्यहाँबाट सार्वजनिक बसमा लिएर गएका उनले सिन्धुलीबाट मुग्लिनसम्म अर्को गाडी झिकाएका छन्।

हायु परिवारको ऋण तिर्न पनि वडाले समन्वय गरिदिने भएको छ। उनीहरूको साढे ८ लाख रुपैयाँ ऋण छ। छोरालाई विदेश पठाउँदाको र घर खर्च समेत गर्दा ऋण लागेको उनीहरूले बताएका छन्।

त्यो ऋण तिर्न पनि स्थानीयसँगको सहयोगमा वडाले केही रकम सहयोग गर्ने भएको छ। हायु परिवारले गाउँपालिकाबाट पनि प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ बुझ्दै आएका छन्। 

तर उनीहरू बस्दै आएको घरमा बिरामी भइरहेको भन्दै साउन ८ गते राति उनीहरू गाडीमा पोखरा पुगेका थिए। पोखरा पुगेर सुरुमा होटलमै बसेका उनीहरू भोलिपल्ट गगनगौँडामा पुगेर २ वटा घरमा बास बसेका थिए। त्यसै दिनदेखि खोजि गर्ने क्रममा प्रहरीले बेलुका फेला पारेको थियो। 

प्रहरी र जनप्रतिनिधिले घर फर्किन अनुरोध गर्दा पनि उनीहरू पहिलेकै स्थानमा बस्न तयार भएनन्। त्यो ठाउँ अत्यन्तै दुर्गम रहेको, बिरामी भइरहने र बिरामी हुँदा सिटामोल पाउन पनि मुस्किल पर्ने बताएका थिए। 

पोखरा महानगरपालिकाले यतिन्जेल उनीहरूलाई बस्ने व्यवस्था गरेको थियो। सोमबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वडाध्यक्षको साथ लगाएर विदाइ गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad