समाज


इमाडोलमा प्रेमी भेट्न गएकी किशोरीको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

सामाजिक सञ्जालमार्फत चिनजान भएका उनीहरूले बुधबार पहिलोपटक भेट गरेका थिए
इमाडोलमा प्रेमी भेट्न गएकी किशोरीको मृत्यु, १८ वर्षीय किशोर पक्राउ

नेपालखबर
साउन २२, २०८२ बिहिबार १३:५६, काठमाडौँ

ललितपुरमा प्रेमिको घरमा गएकी किशोरीको मृत्यु भएपछि किशोर उमेरकै उनका केटासाथी पक्राउ परेका छन्। 

ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी घर भएकी करिब १८ वर्षीया किशोरीको मृत्यु भएपछि उनका प्रेमी ललितपुरकै इमाडोलका १८ वर्षीय आर्यन पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।

‘प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरू प्रेमिप्रेमिका रहेको खुलेको छ,’ एसपी जोशीले नेपालखबरसँग भने, ‘किशोरीको मृत्युपछि किशोरलाई हामीले पक्राउ गरेका छौँ। किशोरीको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।’

किशोरसँगै हुँदा बेहोस भएकी किशोरीलाई बुधबार दिँउँसाे उपचारको लागि ग्वार्कोस्थित किष्ट अस्पताल लगिएको थियो। त्यहाँ पुर्‍याउँदा चिकित्सकले उनको पहिल्यै मृत्यु भइसकेको पुष्टि गरेका थिए। 

प्रहरीका अनुसार ती किशोरी बुधबार दिउँसो करिब १२ बजेतिर इमाडोल बस्ने आफ्ना प्रेमी पाण्डेको घरमा गएकी थिइन्। 

सामाजिक सञ्जालमार्फत चिनजान भएपछि उनीहरु केही महिनायता प्रेम सम्बन्धमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रेम सम्बन्ध बढ्दै गएपछि उनीहरूले भेट्ने सल्लाह गरेका थिए। त्यसपछि किशोरी पहिलोपटक प्रेमीको घर पुगेकी थिइन्।

बुधबार दिउँसो दुईजना कोठामा बसिरहँदा किशोरी एक्कासी  बेहोस भएको किशोरले प्रहरीलाई जानकारी गराएका छन्। बेहोस भएपछि ती किशोरले आफ्ना बुबालाई खबर गरेका थिए।

खबर गरेपछि पुगेका किशोरका बुवाले किशोरीलाई किष्ट अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले उनको पहिल्यै मृत्यु भइसकेको पुष्टि गरेका हुन्। 

घटनापछि किशोरलाई प्रहरी वृत्त सातदोबाटोबाट गएका प्रहरीले पक्राउ गरेका छन्।  सातदोबाटो प्रहरीकाे हिरासतमा राखेर उनीमाथि घटनाबारे थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

‘मृत्युको कारण खुलिसकेको छैन,’ एसपी जोशीले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको खास कारण खुल्ला।’ किशोरीले किशोरलाई दिएको ‘लभलेटर’ पनि घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनीहरू कक्षा १२ मा पढ्ने विद्यार्थी भएको पनि जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad