समाज


रक्षाबन्धन : लैङ्गिक समानताको बीजारोपण गर्ने पर्व बन्नु पर्छ

रक्षाबन्धन : लैङ्गिक समानताको बीजारोपण गर्ने पर्व बन्नु पर्छ

ज्यो. मेनुका दाहाल
साउन २४, २०८२ शनिबार ६:६, काठमाडौँ

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल॥

रक्षाबन्धन परम्परागत रूपमा गुरु पुरोहितले आफ्ना यजमान तथा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको हातमा अभिमन्त्रित गरिएको रक्षासूत्र अर्थात् रक्षाबन्धन बाँधेर सम्पूर्ण सुरक्षाको कामना गर्ने पर्व हो। रक्षाबन्धन प्रेम, विश्वास र कर्तव्यको त्यो पवित्र डोरो हो, जसले सम्बन्धहरूलाई अझ बलियो बनाउँछ। 

यो पर्वले हाम्रो पारिवारिक सम्बन्ध, प्रेम, आत्मीयता र जिम्मेवारीको अभिव्यक्ति गर्दै आएको पाइन्छ। आजको युगमा रक्षाबन्धनलाई शिक्षित र चेतनशील समाजले परम्परालाई आधुनिक सोचसँग जोड्दै अघि बढिरहेको देख्न सकिन्छ। रक्षाबन्धन अब केवल दाजुलाई मात्र बाँध्ने होइन-  बहिनीहरूले दिदीलाई, दाजुले बहिनीलाई, साथीहरूले साथीलाई- एकअर्काको सुरक्षा, सम्मान, आपसी स्नेह, समर्पण र सहकार्यको भावनाको प्रतीकस्वरूप रक्षाबन्धन बाँध्ने चलन बन्दै गएको छ।

अहिले यो केवल गुरु पुरोहितले मन्त्रद्वारा रक्षार्थको कामना गर्ने सोचमा मात्र सीमित छैन। यहाँसम्म कि मित्रता, सहकर्मी, शिक्षक, विद्यार्थी साथै सैनिक, सुरक्षाकर्मी, चिकित्सकजस्ता समाजका रक्षकलाई रक्षाबन्धन बाँधेर सम्मान प्रकट गर्ने परम्परा पनि सुरु भइसकेको छ।

यसले हातमा रक्षासूत्र बाँधेर सुरक्षाको अभिलाषा राखी नयाँ सोच र नयाँ दिशाको सन्देश दिएको छ। रक्षाको अर्थ केवल शारीरिक सुरक्षा होइन, भावनात्मक साथ, मानसिक हौसला, सम्मान र समान अवसर सुनिश्चित गर्नु नै आजको ‘रक्षा’ हो। 

आजको दिन केवल मिठाई र उपहारमा सीमित नभई घर-घरमा बहिनीहरूको सम्मान, आफ्ना दिदीबहिनीका सपनामा साथ दिने प्रतिज्ञा, लैङ्गिक समानताको बीजारोपण गर्ने पर्व बन्नु पर्छ। कसैले कसैलाई कमजोर मानेर होइन, बरु एक अर्काको मजबुती बनेर अघि बढ्ने सहकार्यको दिन हो ‘रक्षाबन्धन’।

रक्षा केवल भौतिक सीमाहरूको होइन, भावनाहरूको, स्वतन्त्रताको र आत्मसम्मानको हो।

रक्षाबन्धन त्यो डोरी हो, जसमा बाँधिएको हुन्छ- माया, प्रेम, विश्वास, निष्ठा, कर्तव्यबोध, जिम्मेवारी र जीवनभरको साथ। यो बन्धन केवल हातमा रक्षासूत्र बाँधेर होइन, मनमा पनि विश्वासको सूत्र बाँधिने हुनु पर्छ।

समानता, सम्मान, साझा सुरक्षा र समझदारीमा आधारित सम्बन्धहरू बनाउँदै रक्षाबन्धनको सन्देशलाई व्यवहारमा उतार्नु पर्दछ।

रक्षाबन्धनं शुभं कुर्यात् स्नेहसूतं द्रढं भवेत्।
सदा सौहार्दसम्पन्नं बन्धुत्वं च वर्धते॥

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad