समाज


सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
भदौ १, २०८२ आइतबार २०:५३, काठमाडौँ

मुगु जिल्लाको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर, वडा अध्यक्षसमेत १२ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सोरु गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ मा सोरु गाउँपालिका वडा नं. १ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्‍कन गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ।

आर्थिक वर्ष २०७७/०७८ को मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत उक्त सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम रु.३६ लाख ४० हजार र योजना सम्झौता बमोजिम जनश्रमदान रु.३ तीन ७३ हजार ४३९ रुपैयाँ ४४ पैसा गरी उक्त सडक निर्माण योजनाको कूल लागत अनुमान रु.४० लाख १३ हजार ४३९ रुपैयाँ ४४ पैसामा कार्य सम्पन्न गर्ने गरी उपभोक्ता समिति र गाउँपालिकाबीच २०७८ जेठ १० मा सम्झौता भएको थियो।

उक्त सडक निर्माण गर्दा लागत अनुमान अनुसार कार्य नगरी वास्तविक भए गरेको कार्यभन्दा बढी कार्य भएको भनी गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरे गराएको, आपसी मिलेमतोमा बढी काम भएको देखाई रु.७ लाख ६ हजार ७९९ रुपैयाँ ७५ पैसा बढी भुक्तानी दिने/लिने कार्य गरे/गराएको पुष्टि भएको अख्तियारको ठहर छ।

उक्त कार्यम संलगन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य र सव-इन्जिनियर जगत बहादुर मल्ललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी प्रतिवादीहरुबाट बिगो असूल उपर हुन एवं गलत प्रतिवेदन तयार गरेको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ।

यस्तै, गाउँपालिकाका लेखापाल जेठ बहादुर बुढा र योजना शाखा प्रमुख नविन बुमीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी प्रतिवादीहरुबाट बिगो असूल उपर हुन मागदाबी लिइएको छ।

जवलधारा पी.सी.सी. सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) अध्यक्ष चक्र बहादुर छत्याल, सह-संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही र सचिव मुकुन्दे दमाईलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगो समेत जफत हुन मागदाबी लिइएको छ।

यसैगरी जिल्ला मुगु, सोरु गाउँपालिका कार्यपालिका सदस्य एवं जवलधारा पी.सी.सी. सडक निर्माण अनुगमन समिति संयोजक दलवीर सार्की, समिति सदस्य पुने शाही र सोरु गाउँपालिका वडा नं. १ का तत्कालीन वडा अध्यक्ष मिसिन्द्र शाहीलाई गलत प्रतिवेदन दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय हुन मागदाबी लिइएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जनाएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad