जिल्ला शिक्षा कार्यालय खोटाङका पूर्वजिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल भ्रष्टाचार मुद्दामा १० हजार रूपैयाँ धरौटीमा छुटेका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो।
सोमबार अदालतमा उपस्थित भएका नेपालसँग इजलासमै बयान लिइएको थियो। बयान र थुनछेक बहसपछि उनलाई १० हजार धरौटीमा रिहा गर्ने आदेश भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्री कृष्ण उच्च माध्यमिक विद्यालय टेम्माको ४ कोठे भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा नेपालसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले तत्कालीन जिशिअ नेपाल, जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सबइन्जिनियर शिवराज राई, श्री कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राई, अर्का अध्यक्ष टीकाराम राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईविरुद्ध मुद्दा दायर गरेको थियो।
उनीहरूले विद्यालय भवन निर्माण गर्दा झुटा बिल भरपाइका आधारमा रकम निकासा गरी २५ लाख ५० हजार रुपैयाँ घोटाला गरेको अख्तियारको आरोप छ।
Shares

प्रतिक्रिया