समाज


ललितपुरमा ‘अर्ली वार्निङ’ प्रणाली जडान

नदीमा पानीको वहाव बढेपछि घण्टीले दिन्छ सूचना
ललितपुरमा ‘अर्ली वार्निङ’ प्रणाली जडान

नेपालखबर
भदौ ८, २०८२ आइतबार ७:३०, ललितपुर

ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन ‘अर्ली वार्निङ’ प्रणाली जडान गरेको छ। महानगरले हाल पालिका भित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको छ।

यो प्रणाली जडान गर्ने ललितपुर महानगर पहिलो स्थानीय तह हो।  वडा नम्बर २८ हरिसिद्धीस्थित कर्मनाशा पुल र वडा नम्बर ४ मा रहेकाे नख्खु खोला नजिकै यो प्रणाली जडान गरिएको ललितपुर महानगर विपद् व्यवस्थापन शाखाले जनाएको छ। 

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्र पर्ने मुख्य दुई नदी नजिकै यो प्रणाली जडान गरिएको बताए। उनले भने, ‘ यी दुईवटा नदी वरपरका अन्य वडाहरुलाई पनि सचेत हुन यो प्रणालीले मद्दत गर्छ।’

नदीमा पानीको बहाब बढेपछि घन्टी बज्छ। यो घन्टीले सचेत हुन र आवश्यक सावधानी अपनाउन मद्दत गर्छ। आवश्यक देखिए अन्यत्र पनि यस्ताे घण्टी डान गर्ने महानगर प्रमुख महर्जनले बताए।

महानगर विपद् व्यवस्थापन शाखाका अनुसार झण्डै दुई किलोमिटरसम्म घण्टीको आवाज सुनिन्छ। बाढीको अवस्थाबारे नगर प्रहरी र अन्य सरोकारवालालाई जानकारी दिनसमेत संयन्त्र जडान गर्ने तयारी महानगरले गरेको छ।

अर्ली वार्निङ सिस्टम जडान गर्नुको मुख्य उद्देश्य जनधनको क्षति हुन नदिनु भएको नगर प्रमुख महर्जनकाे भनाइ छ। 

ललितपुर महानगरले विपद् व्यवस्थापनका लागि एउटै छानामुनि विपद् व्यवस्थापनमा आवश्यक जनशक्ति र सामग्रीहरूको व्यवस्थापन गरेको छ। पुल्चोक दमकलस्थित नगर प्रहरी बल कार्यालयमा नगर प्रहरी, दमकल, शव वहान, डुंगाको व्यवस्थापन गरेको छ।

यसैगरी विपद्को बेलामा प्रयोग गर्नुपर्ने अन्य सामग्रीहरुमा पनि त्यहाँ राखिएका छन्। नगर प्रमुख महर्जनले विपद् भइहाले आवश्यक पर्ने सबै संयन्त्र एकै पटक पुगोस् भन्ने हेतुले एकै छानामुनि सबै संयन्त्रको व्यवस्था गरेको बताए।

उनले भने, ‘अन्तर्राष्ट्रिय अभ्यास अनुसार विपद् व्यवस्थापनका बेला जनशक्तिसँगसँगै  एम्बुलेन्स पनि सँग जानुपर्छ, हामीले यो अभ्यासलाई ललितपुर महानगरमा प्रयोग गरेका छौँ।’

महानगरले अघिल्लो वर्ष असोजको दोस्रो साता आएको बाढीमा उद्धारका लागि डुङ्गाको सक्त अभाव भएपछि महानगरले केही महिना अघि डुङ्गा खरिद गरेको छ । यसका साथै साना ठूला गरी ६ वटा दमकल महानगरसँग छ।

नगर प्रमुख महर्जनले भने, ‘गल्लीभित्र पसेर आगो निभाउन सक्ने दमकल पनि महानगरसँग छ। ’ महानगरले विभिन्न कारणले हुने विपद्बाट जोगिन वडास्तर सम्म पुगेर सचेतना कार्यक्रम पनि आयोजना गरेको छ।

महानगरको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकाले वडै पिच्छे विपद् व्यवस्थापन र सचेतनाका लागि वडा स्तरीय स्वयंम सेवक समूह गठन गर्ने तयारी समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad