हरितालिका तीज हिन्दू नारीहरूको लागि विशेष महत्त्व बोकेको पर्व हो, जुन भाद्र शुक्ल तृतीयाका दिन मनाइन्छ। यस पर्वलाई विशेषगरी अविवाहित युवतीले इच्छित वर पाउने र विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै व्रत पूजा र उपवास सहित मनाउने गर्दछन्। यो चाडलाई विशेषगरी भगवान् शिव-पार्वती मिलनको सम्झनामा मनाउने गरिन्छ।
संस्कृत भाषाको ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ। जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ।
पौराणिक कथाअनुसार राजा हिमालयकी पुत्री पार्वती बाल्यकालदेखि नै भगवान् शिवलाई वरको रूपमा अपनाउने अटल सङ्कल्पमा थिइन्। तर, उनका पिता हिमालयले विष्णुलाई ज्वाइँ बनाउन चाहे। विवाहका लागि विष्णुको प्रस्ताव स्वीकृत हुन लागेको थाहा पाएपछि पार्वती अत्यन्तै दुःखी भइन्। पार्वती निकै दु:खी भएको देखेर उनका सखीहरूले त्यो विवाह हुन नदिने वचनसहित उनलाई ‘हरेर’ जङ्गलतर्फ लगी लुकाए।
यसै घटनाका कारण यस पर्वलाई ‘हरितालिका’ भनियो। वनमा पुगेपछि पार्वतीले भगवान् शिवलाई नै पतिका रूपमा प्राप्त गर्ने विश्वासका साथ कठोर तपस्या गर्न थालिन्। पार्वतीले त्यहाँ कठोर व्रत बस्दै, निराहार उपवास गर्दै, माटो र पातका आसनमा बसेर दिनरात शिवको ध्यान गरिन्।
पार्वतीको निष्ठा, श्रद्धा र कठोर तपस्याबाट प्रसन्न भई भगवान् शिव प्रकट भए र वर माग्न भने। यसरी दिव्य मिलन सम्पन्न भयो। त्यसैबेलादेखि यस दिन महिलाले शिवपार्वतीको पूजा आराधना गर्दै निराहार व्रत बस्ने परम्परा चलिआएको हो।
हरितालिका तीजलाई नारीहरूको भक्ति, श्रद्धा र अटुट सङ्कलपको प्रतीक मानिन्छ। यो पर्वले शिवपार्वतीको शाश्वत मिलन र दाम्पत्य जीवनमा प्रेम, विश्वास र धैर्यको महत्त्वलाई उजागर गर्दछ। व्रत बस्ने महिलाको मनोकामना पूर्ण हुने र वैवाहिक जीवन सुखमय हुने विश्वास गरिन्छ।
तीज केवल व्रत मात्र नभई सामूहिक उत्सव पनि हो। यस दिनमा महिलाहरू घरधन्दाबाट मुक्त भएर आफ्ना कथा, व्यथा र वेदना बिर्सेर रमाउने चलन चल्दै गयो।
रातो पहिरन, गरगहनामा सजिएर शिवालयहरूमा नाचगान गर्ने, दु:ख-पीडालाई भुलेर दिदीबहिनी र साथीसंगी भेला भई रमाउने परम्परा बस्यो। यस अवसरमा महिलाहरू माइतीघर जाने परम्परा पनि छ। जसले बिहेबारी भएर पराइघर गएकी छोरीलाई माइतीघरसँगको पारिवारिक सम्बन्ध दर्शाउँछ।
पछिल्लो परिवेशमा तीज केवल धार्मिक पर्व मात्र नभई नारी अधिकार, समानता र सामाजिक चेतनाको पर्वका रूपमा पनि विकसित भइरहेको छ। महिलाहरूले तीज गीतमार्फत सामाजिक विकृति-विसङ्गति, हिंसा, दमन र असमानताको विरोध गरेको पाइन्छ।
विशेषगरी यो पर्वले व्रत, उपवास, उपासना र आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको जगेर्ना गर्दै महिलाको अस्तित्वलाई मजबुत बनाउने प्रयास गरेको बुझ्न सकिन्छ। यो पर्व महिला सशक्तीकरणको पुल बन्नु पर्दछ।
समग्रमा, हरितालिका तीज हिन्दू नारीहरूको श्रद्धा, भक्ति, प्रेम र समानताको पर्व हो, जसले परिवार, समाज र संस्कृतिलाई एकसाथ बाँध्ने काम गरेको छ।
Shares

प्रतिक्रिया