समाज


मङ्सिरमा बाघ र गैँडा गणना

मङ्सिरमा बाघ र गैँडा गणना

नेपालखबर
भदौ ११, २०८२ बुधबार १६:८, चितवन

गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ। यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो।

विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ। सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ। उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदै छ। करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए। एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ। गैँडा गणना गर्न एक महिना लाग्दछ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ। बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ।

बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले रु १८ लाख रकम विनियोजन गरेको छ। यसका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ। कँडेलले गैँडा गणनाका लागि रु १८ लाख नै विनियोजन गरेको बताए। गैँडा गणना गर्न रु दुई करोड बढी खर्च लाग्ने गर्दछ। बाँकी रकमका लागि दातासँग सहयोग मागिने भएको छ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्याङ्क छ।
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेरा राख्ने गरिन्छ। त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्दछ। बाघको फोटो हेरेर तिनीको शरीरमा भएको पाटाको आधारमा सङ्ख्या छुट्याइने उनले जानकारी दिए। हरेक बाघको पाटा (शरीरमा भएका धर्का) फरक–फरक हुने गर्दछन्।

गैँडा गणना हात्ती माथि चढेर प्रत्यक्ष हेरेर (रियल टाइममा) गरिन्छ। नेपालमा सन् २००९, सन् २०१३, सन् २०१८ पनि बाघ गणना भएको थियो। सन् २००९ को गणनामा देशैभर १२१, सन् २०१३ मा १९८ र सन् २०१८ मा २३५ बाघ भेटिएका थिए।

सन् २०२१ मा गरिएको गैँडा गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा ७५२ गैँडा फेला परेका थिए। सन् १९६० को दशकमा गैँडाको सङ्ख्या घटेर करिव १०० को हाराहारीमा झरेको थियो। नेपालमा सन् १९५० को दशकमा ८०० वटा गैँडा रहेको अनुमान छ।
 
सन् २०२१ को गणनामा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा २९ गैँडाबाट बढेर ३८, शुक्लाफाँटमा आठबाट बढेर १८ पुगेको थियो।
 
नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०,सन् १९९० मा ३५८, सन् १९९५ मा ४६६, सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ र सन् २०२१ मा ७५२ गैँडा फेला परेको तथ्याङ्क छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad