समाज


मितेरी सहकारी ठगी आरोपी ज्योतिबहादुर भण्डारी र सुवास खत्री कारागार चलान

मितेरी सहकारी ठगी आरोपी ज्योतिबहादुर भण्डारी र सुवास खत्री कारागार चलान

नेपालखबर
भदौ १२, २०८२ बिहिबार १६:४७, काठमाडौँ

ललितपुरको मितेरी सहकारी ठगीका अभियुक्त ज्योतिबहादुर भण्डारी र सुवास खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्। अर्का प्रतिवादी सुरेश अधिकारी भने ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। 

अधिकारीले बिहीबार ७ लाख रुपैयाँ धरौटी दाखिला गरेपछि रिहा गरिएको जिल्ला अदालत ललितपुरका प्रवक्ता टीकाध्वज कार्कीले बताए। जिल्ला न्यायाधीश निर्मला योङयाको इजलासले सोमबार नै आदेश गरेपनि धरौटी नबुझाउँदा अधिकारी थुनामै थिए। 

ललितपुरको महालक्ष्मीस्थानको मितेरी सहकारी ठगीमा ८ जनाविरुद्ध मुद्दा दर्ता भए पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तीन जनालाई मात्रै पक्राउ गरेर अनुसन्धान गरेको थियो। 

उनीहरूविरुद्ध ठगी, लिखत कीर्ते, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ। 

यो कसुरमा मुख्य भूमिका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीको देखिएको छ। गुरुङ हाल फरार छिन्। भण्डारीलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरेर ल्याएको छ। 

कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ सहकारीको रकम अपचलन गरेर भण्डारीलाई पठाउने र भण्डारी कम्बोडियामा बसेर ठगी गर्ने गरेको खुलेको हो। अन्यको पनि यस प्रकरणमा संलग्नता देखिएको छ। 

फरार रहनेमा कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बाग्लुङका ३५ वर्षीय प्रदीप भन्ने प्रितम अधिकारी र सिन्धुपाल्चोकका ३३  वर्षका अर्जुन अराम छन्। 

उनीहरूले मितेरी सहकारीको १४ करोड २९ लाख २४ हजार ७५४ रुपैयाँ अपचलन गरेको आरोप छ। यस्तै उनीहरूकै मिलेमतोमा कम्बोडियाबाट पार्सल ३३ करोड ११ लाख रुपैयाँ पठाएको छ भन्दै उक्त रकम निकाल्न कमिसनबापत भन्दै थप ३ करोड ४२ लाख ८२ हजार ४२० रुपैयाँ ठगी गरेको आरोप छ। यो समेत गरेर ठगीमा १७ करोड ७२ लाख ७ हजार १७४ रुपैयाँ ९२ पैसा बिगो कायम गरिएको छ। 

सुवास खत्री र अर्जुन आरमलाई हुण्डीको कसुरमा पनि प्रतिवादी बनाइएको छ। उनीहरूले ६ अर्ब ७४ करोड ३२ लाख ६९ हजार ८९ रुपैयाँ २२ पैसा हुन्डीको कारोबार गरेको प्रमाण फेला परेको अभियोग पत्रमा दाबी गरिएको छ।

सुवास खत्रीलाई क्रिप्टो कारोबारमा २ हजार १४९ अमेरिकी डलर (करिव ३ लाख रुपैयाँ) को कारोबार गरेको आरोप छ। उनलाई उक्त कसुरमा पनि प्रतिवादी बनाइएको छ। कसुर अनुसार सबै प्रतिवादीलाई छुट्टा छुट्टै बिगो कायम गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad