समाज


५२ वर्षमा क्याम्पस भर्ना भएर पढिरहेका वडाध्यक्ष

५२ वर्षमा क्याम्पस भर्ना भएर पढिरहेका वडाध्यक्ष

वडाध्यक्ष शिवप्रसाद खनाल


नेपालखबर
भदौ १४, २०८२ शनिबार १२:५१, काठमाडौँ

मनहरी गाउँपालिका-१ का वडाध्यक्ष शिवप्रसाद खनालले ५२ वर्षको उमेरमा कलेज भर्ना भएर विद्यालय शिक्षा फेरि सुरु गरेका छन्।  

हेटौंडा उपमहानगरपालिका–१९ स्थित बस्तिपुरको निर्मल बहुमुखी क्याम्पसमा उनी अहिले स्नातक तह (ब्याचलर) पहिलो वर्षमा समाजशास्त्र र स्वास्थ्य विषय अध्ययन गरिरहेका छन्। 

नगरमा पनि शिक्षाका सवाललाई प्राथमकिकता दिने खनाल अहिले दोस्रो कार्यकालका लागि वडाध्यक्षको जिम्मेवारीमा छन्। जनप्रतिनिधिको जिम्मेवार पदमा पुग्दा समेत औपचारिक अध्ययनको अभावले मनमा गहिरो खालीपन महशुस भएपछि भर्ना भएर पढ्न थालेको उनी सुनाउँछन्।  

गाउँमा आयोजना हुने कार्यक्रमहरूमा शिक्षित व्यक्तिहरूको सक्रियता र प्रभाव देख्दा आफू पनि त्यस्तै बन्ने चाहना दिनप्रतिदिन बलियो हुँदै गएको उनले अनुभव सुनाए। 

विगतमा विदेश जाने सपना बोकेका खनालले पाँचपटक पासपोर्ट बनाए पनि अवसर जुरेन। 

उनी केही समय यातायाता सञ्चालकको रुपमा पनि काम गरे। व्यापास पनि गरे। कुखुरा पालन पनि गरे। तर, ती क्षेत्रमा सफल नभएको भन्दै उनले आफूलाई सम्हाल्दै फेरि पढ्न तयार पारे। 

वडाध्यक्ष बन्नुअघि खनालको मुख्य चाहना एउटा विद्यालयको अध्यक्ष बन्ने थियो। २०७४ सालमा उनी पहिलोपटक वडा अध्यक्षमा निर्वाचित भए। त्यसपछि बाल जीवन ज्योति विद्यालय, मकरीको अध्यक्षको भूमिका समेत उनैले सम्हाले। 

उक्त विद्यालयमा लगाइएको सप्ताहपूजाबाट संकलन भएको पैसाबाट कक्षा १२ सम्मको पठनपाठन सुरु गराउने निर्णय उनैले गराए। 

जसले गाउँमै उच्च शिक्षाको ढोका खोलेको छ। अहिले सो विद्यालयको नयाँ भवन निर्माण भइसकेको छ र स्थानीय विद्यार्थीहरूलाई सहज शिक्षाको अवसर प्राप्त भएको छ।

२०५२ मा एसएलसी पास गरेका खनाल २७ वर्षपछि २०७९ मा कक्षा ११ आफैँले १२ कक्षा बनाएको विद्यालयमा पुनः भर्ना भए। 

शिक्षाप्रति बढ्दो मोहका बीच उनले २०८१ सालमा कक्षा १२ उत्तीर्ण गर्दै २.६ जीपीए ल्याए। त्यही आत्मविश्वासले उनलाई अझ उच्च शिक्षा हासिल गर्ने हौसला दियो। 

अहिले पनि सामाजिक जिम्मेवारीसँगै समय व्यवस्थापन गरेर उनी नियमित रूपमा क्याम्पसमा पढाइमा सहभागी भइरहेका छन्। 

शिक्षाप्रतिको यो लगनशीलता र जीवनभर सिकिरहने जाँगरले शिवप्रसाद खनाल मात्र होइन, उनको नेतृत्वमा रहेको समुदायका लागि पनि प्रेरणाको स्रोत बनेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad