सरकारले सगरमाथा चढ्ने पुरानो मार्ग ब्युँताउने तयारी गरेको छ। सगरमाथा आरोहणको वैकल्पिक मार्गको रूपमा परम्परागत मार्गको खोजी तथा अनुन्धानको काम ८० प्रतिशत सम्पन्न भइसकेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले बताए।
त्यस मार्गबाट पहिलोपटक सन् १९५२ मा स्विस एभरेस्ट एक्सपिडिसनमा तेन्जिङ नोर्गे शेर्पा र लेम्बर नामका व्यक्ति ८ हजार ७५० मिटरसम्म पुगेका थिए। तर, डोरीको कमीले उनीहरू चुचुरोमा पुग्न सकेनन्। त्यसको एक वर्षपछि सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले यही बाटो हुँदै सगरमाथा शिखरको पहिलो सफल आरोहण गरेका थिए।
त्यसैले यसलाई परम्परागत मार्ग भन्ने गरिन्छ।
उक्त मार्ग हुँदै गरिने आरोहण नुप्चेको फेदीबाट सुरु हुन्थ्यो। सोही मार्गको खोजी, अनुसन्धान तथा पुनःनिर्माणको काम आरोही तथा अनुसन्धानकर्ता स्पिड काजी शेर्पा र फ्रान्सेली नागरिक मार्क बटर्डको नेतृत्वमा भइरहेको छ।
यो बाटोबाट सगरमाथा चढ्दा खुम्बु आइसफल पार गर्नुपर्दैन। खुम्बु आइसफल त्यही स्थान हो, जहाँ सर्वाधिक दुर्घटना हुने गर्दछ।
यो बाटो लामो भएकाले सिधै आइसफलको मार्गबाट आरोहण गर्न थालिएको थियो। खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा एसियन ट्रेकिङले सञ्चालनमा ल्याएको हो।
उक्त समयमा यस मार्गलाई एसियन ट्रेकिङले नै मर्मत गर्ने गरेको र पछि एसपीसीसीलाई जिम्मा दिएको एसियाली पर्वतारोहण महासंघका अध्यक्ष तथा विश्व पर्वतारोहण महासंघका विज्ञ आङ छिरिङ शेर्पा बताउँछन्।
खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्ग सुक्यो।
खुम्बु आइसफलको बाटोभन्दा परम्परागत मार्ग केही लामो भए तापनि सुरक्षित भएकाले वैकल्पिक मार्गको रुपमा यसको पुनःनिर्माण भइरहेको स्पिड काजी शेर्पाले बताए। उनका अनुसार यो खुम्बु आइसफलको मार्गभन्दा करिब २ सय मिटर बढी लामो छ।

उनका अनुसार यो पुरानो बाटोमा स्थायी डोरी टाँगेर बाटो बनाइँदैछ। यस मार्गमा रकओसन भएकाले यहाँको डोरी तन्कने, खुम्चने र पहिरोमा छोपिने समस्या पनि हुँदैन।
आरोहणको लागि सहज भयो भने यस मार्गको प्रयोग भविष्यमा वैकल्पिक मार्गको रुपमा हुने गौतम बताउँछन्।
तापक्रम वृद्धिका कारण खुम्बु आइसफलमा परेको दरार बढ्दै गइरहेको छ। सगरमाथा आरोहणको मार्ग अत्यन्तै जोखिमपूर्ण बन्दै गएको निष्कर्षसँगै सुरक्षित वैकल्पिक मार्गको खोजी तथा अनुसन्धान गर्नुपर्ने आवश्यकता रहेको पर्यटन उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले साउन २ गते मन्त्रालयमा भएको छलफलमा बताएका थिए।
यसका साथै खुम्बु आइसफलको बाटो मर्मत पनि ज्यादै खर्चिलो हुने गरेको छ। शरद ऋतुमा आउने थोरै आरोहीहरूको लागि पनि बाटो मर्मत गर्नमै ठूलो रकम खर्च हुने गरेको छ। परम्परागत मार्गमा भने डोरी मात्र परिवर्तन गर्नुपर्ने भएकाले मर्मत सस्तो पर्ने आङ छिरिङ शेर्पाको भनाइ छ।
वैकल्पिक मार्ग बनेपछि नुप्चेको फेदीमा पनि बेसक्याम्प रहने हुनाले दुईतिर बेसक्याम्प हुने र त्यसले गर्दा भिडभाड पनि कम हुने गौतमले बताए।
अहिले पनि सगरमाथा बेसक्याम्प थेगिनसक्नु भीड हुँदा आरोहीहरू नुप्चेको फेदीमा बेसक्याम्प हालेर बस्ने गर्छन्।
यी दुई मार्ग क्याम्प एकमा पुग्दासम्म मात्र फरक हुन्, त्यसभन्दा माथिको बाटो एउटै हो।
हाल बेसक्याम्प भएको ठाउँबाट वैकल्पिक मार्ग/परम्परागत मार्ग भने खुम्बु आइसफलभन्दा केही तल दक्षिणपूर्वतर्फ पर्छ। परम्परागत मार्ग हालसम्मको स्थितिलाई हेर्दा निकै नै सुरक्षित रहेको स्पिड काजी शेर्पा बताउँछन्।
उक्त मार्ग आफू र बटर्डको निर्देशनमा आइसफल डक्टरहरूले निर्माण गरिरहेको उनको भनाइ छ।

किन आवश्यक छ वैकल्पिक मार्ग?
सगरमाथा आरोहण गर्दा सुरुकै खतरा भनेको खुम्बु आइसफलमा हो। यहाँ हिउँ पग्लने, फाट्ने भइरहने हुनाले धेरै खतरा मोलेर जानुपर्ने आङ छिरिङ शेर्पा बताउँछन्।
गौतम भन्छन्, ‘सगरमाथा बेसक्याम्पबाट क्याप-१ सम्म पुग्ने मार्ग अत्यन्तै कठिन छ। यस मार्गको आइसफल छिन-छिनमै परिवर्तन भइराख्ने भएकाले निकै नै जोखिमयुक्त मानिन्छ। तथ्याङ्कअनुसार हेर्ने हो भने पनि सगरमाथा आरोहणको क्रममा सगरमाथा बेसक्याम्पदेखि माथि भएका मृत्युहरूको एक चौथाइ मृत्यु खुम्बु आइसफलमा भएको पाइन्छ।’
सगरमाथा आरोहण भन्नेबित्तिकै जोखिमयुक्त खुम्बु आइसफलको बाटो पार गरेर जानुपर्ने भन्ने चिन्ता पर्वतारोहीहरूमा रहेको र त्यसलाई चिर्न वैकल्पिक मार्गले सघाउने उनी बताउँछन्।

छैन सरकारको लगानी
वैकल्पिक मार्ग आवश्यक ठाने पनि सरकारले यसमा लगानी भने गरेको छैन। अनुसन्धानकर्ताहरूले आफ्नै पहलमा खोज तथा अनुसन्धान गरिरहेका छन्। यस कार्यमा फ्रान्सका विभिन्न संघसंथाको चासो र सहयोग छ। उनीहरूले सरकारसँग सहयोग माग गरिरहेका छन्।
सगरमाथा पुग्ने वैकल्पिक मार्ग फ्रान्सले बनाइदिएको भन्दा पनि नेपाल सरकार र फ्रान्सको समन्वयमा बनेको भन्दा राम्रो सुनिने भएकाले सरकारको सहयोग मागेको स्पिड काजी बताउँछन्।
‘अहिलेसम्म सहयोग पाइएको चाहिँ छैन,’ उनी भन्छन्।
यस विषयमा नेपाल सरकारको तर्फबाट पनि पर्यटन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन विभागले कसरी त्यहाँ सहकार्य गर्न सकिन्छ भनेर काम गरिरहेको पनि गौतमको भनाइ छ।
८० प्रतिशत काम सकिए पनि यसले अन्तिम रूप पाउन भने बाँकी रहेको गौतमले बताए।
'यस विषयमा मन्त्रालय र विभाग सकारात्मक छ र कसरी यस सहकार्यमा जोडिन सक्छौँ भनेर छलफल भइरहेको छ,' उनले थपे।

साउन २ गते पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीको पहलमा मन्त्री पाण्डे, मन्त्रालयका सचिव, पर्वतारोहण क्षेत्रका जानकार, विशेषज्ञ तथा सरोकारवाला, नेपाल पर्वतारोहण संघका पदाधिकारी उपस्थितसहितको छलफल अयोजना भएको थियो, जहाँ परम्परागत मार्ग खोजी तथा अनुसन्धानका सन्दर्भमा फ्रान्सका पर्वतारोही मार्क बटर्ड र नेपालका स्पिड काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण र फोटोग्राफिक दस्तावेजको विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए।
बैठकमा मन्त्री पाण्डेले भनेका थिए, ‘सगरमाथा हाम्रो राष्ट्रिय गौरवको प्रतीक हो। हरेक वर्ष यहाँ हजारौँ विदेशी र नेपाली आरोहीको चाप रहन्छ। उनीहरूको जीवन रक्षाका लागि हामीले सुरक्षित वातावरणमैत्री र दीर्घकालीन समाधान खोज्नैपर्छ। अबको रणनीति जोखिम घटाउने मात्र होइन, सम्पूर्ण आरोहण प्रणालीलाई व्यवस्थित, अनुशासित र विश्वसनीय बनाउने तर्फ केन्द्रित हुनुपर्छ।’
सन् २०१८ देखि उक्त मार्ग खोज तथा अनुसन्धानमा लागेका शेर्पा र बटर्डले सन् २०२४ मा नेपाल सरकारको समन्वयमा परीक्षण आरोहण गरेका थिए।
गौतम भन्छन्, ‘उहाँहरूलाई अहिले मार्ग बनाउनभन्दा पनि अध्ययन गर्नको लागि दिइएको हो। अब त्यहाँबाट कस्तो परिणाम आउँछ, त्यसलाई सरकार, मन्त्रालय र विभागले जाँचबुझ गरेर औपचारिक रुपमा सोचे अनुरुप छ भने आधिकारिक रुपमा उक्त मार्ग खुल्ला भएको सन्देश दिइन्छ।'
अनुसन्धानकर्ताहरूले गरेको ब्रिफिङका आधारमा काम भयो भने आगामी वसन्त ऋतुसम्ममा यो बाटो तयार हुने गौतमको भनाइ छ।
Shares

प्रतिक्रिया