समाज


गाउँको विद्यालय अर्को ठाउँमा गाभ्न खोजेपछि वडा कार्यालयमा तालाबन्दी

गाउँको विद्यालय अर्को ठाउँमा गाभ्न खोजेपछि वडा कार्यालयमा तालाबन्दी

सांकेतिक फोटो


नेपालखबर
भदौ १८, २०८२ बुधबार १६:१०, सिमकोट (हुम्ला)

हुम्लाको सर्केगाड गाउँपालिका–१ को वडा कार्यालय जैरमा दुई दिनदेखि ताला लगाइएको छ। माझ गाउँमा रहेको सिर्जनशील प्रावि डिल गाउँमा रहेको बिहानी प्राविसँग समायोजन (गाभ्ने) निर्णय गाउँपालिकाले गरेसँगै माझ गाउँवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

यहाँका स्थानीयले विद्यालय समायोजन (गाभ्ने) गाउँपालिकाको निर्णय मान्ने नहुने भन्दै मंगलबार लगाएको ताला आज पनि खुल्न नसकेको हो। जैरको माझ गाउँवासीले गाउँपालिका र वडाले आफूहरूसँग कुनै समन्वय तथा जानकारी नगरी एकलौटी विद्यालय समायोजन गरेको भन्दै आन्दोलन गर्नुपरेको प्रयागलाल बुढाले बताए। 

यस्तै सिर्जनशील प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपलाल रावतले माझ गाउँवासीलाई मात्रै नभएर आफूलाई समेत कुनै जानकारी नगराइ विद्यालय समायोजन गर्ने निर्णय प्रति असन्तुष्टि व्यक्त गरेका छन्। माझ गाउँका लागि २०६८ सालमा स्थापना भएको विद्यालय कुनै पनि हालतमा समायोजन गर्न नदिन यहाँका अधिकांश अभिभावक लागिपरेका छन्। 
   
विद्यालय समायोजन गर्ने निर्णयविरुद्ध अभिभावकहरू आन्दोलनमा उत्रिँदै वडा कार्यालय बन्द गरेपछि वडाबाट हुने सम्पूर्ण कामकाज दुई दिनदेखि ठप्प रहेको वडाध्यक्ष बलबहादुर कार्कीले बताए। 

सिर्जनशील प्राविमा अध्ययनरत ५२ विद्यार्थीमध्ये २७ विद्यार्थी बिहानीमा अध्ययन गर्दै आएका र बाँकी २५ मात्रै विद्यार्थी भएको हुँदा सबै पायक पर्ने भएर बिहानीमा यो विद्यालय समायोजन गरिएको वडाध्यक्ष कार्कीले बताए। सबै विद्यार्थी बिहानी जाने भएको हुँदा विद्यालय समायोजन र कर्मचारी पदास्थापनको पत्र वडामा आइपुगेको उनको भनाइ थियो। 
   
सिर्जनशील विद्यालय दुई वर्षअघि नै बिहानीसँग समायोजन गर्ने सहमति भएको थियो। अहिले आएर यहाँका अभिभावक आन्दोलित बनेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad