समाज


फेसन डिजाइन पढिरहेकी हेतलको होस्टेलमा शंकास्पद मृत्यु, हत्या भन्दै निष्पक्ष छानबिन गर्न परिवारको माग

फेसन डिजाइन पढिरहेकी हेतलको होस्टेलमा शंकास्पद मृत्यु, हत्या भन्दै निष्पक्ष छानबिन गर्न परिवारको माग

लक्ष्मी बलायर
भदौ २६, २०८२ बिहिबार १४:१४, काठमाडौँ

भदौ २३ गते अर्थात् जेनजी आन्दोलनको दिन। बाँसबारीमा रहेको एउटा होस्टेल बस्दै आएकी कैलालीकी हेतल खत्री बिहानै बालुवाखानीस्थित मामाघर गइन्। त्यस दिन श्राद्ध भएकाले हेतललाई निम्तो गरिएको थियो।

बिहानैदेखि साँझ ६ बजेसम्म उनी मामाघरमै थिइन्। ६ बजेपछि हेतलले आफू होस्टेल फर्किने बताइन्।  

दिउँसो जेनजी आन्दोलनले उग्र रुप लिइसकेको थियो। १९ जनाले ज्यान गुमाइसकेका थिए। सयौं घाइते भएका थिए। जसकारण मामा मनोजकुमार भण्डारीले हेतललाई यतै बस्नु भान्जी भनेका थिए।

तर, हेतलले मामालाई ‘परीक्षा छ, म जानैपर्छ’ भनिन्। त्यसपछि हेतल बाँसबारीस्थित न्यु युनिभर्स गल्स होस्टेल फर्किइन्।

राति ९:३९ मिनेटतिर। फर्किएको झण्डै चार घण्टापछि होस्टेलबाट हेतललाई चक्कु लागेको खबर आयो। त्यतिबेला मामा भण्डारी सुत्नै लागेका थिए। सोहीबेला उनकी छोरीले आत्तिँदै भनिन्, ‘हेतल दिदीलाई चक्कु लाग्यो रे !’

‘त्यसपछि मैले कुरा गरेँ। एकजना लेडिजले कुरा गर्नुभएको थियो। खास के भनेर सोध्दा चक्कु लाग्यो। हामीले न्युरो हस्पिटलमा इमरजेन्सीमा भर्ना गरेका छौं भन्नुभयो। त्यसपछि म तुरुन्तै अस्पताल गएँ,’ हेतलका मामा मनोजले भने, ‘मेरो रुमबाट न्युरो अस्पताल बाइकमा ५/७ मिनेटमा पुगिन्छ। अस्पताल पुग्दा भान्जीलाई इमरजेन्सीमा राखिएको थियो। जसकारण भित्र जान मिलेन।’

उनका अनुसार, उपचार गर्दा हेतलको मुटुले धड्कन दिइरहेको थियो। तुरुन्तै रगत चाहिने भन्दै डाक्टरले सुनाए। त्यहाँ वरपर रगत नपाएपछि ११ बजे बानेश्वरस्थित एभरेस्ट अस्पताल पुगे। तर, रगत लिएर फर्किँदा हेतलको मृत्यु भइसकेको थियो।

त्यस दिन अस्पतालमा हेतलका एउटै कोठामा बस्ने साथीसहित अन्य होस्टेलका केटीहरू पनि आएका थिए। घटनाबारे उनले सोधपुछ गर्दा हेतलका रूममेटले यस्तो बयान दिएका थिए, ‘आन्दोलन भएकाले गोली आउँछ भनेर हेतल झ्याल लगाउन गएकी थिइन्। जुन झ्याल यसअघि खासै बन्द गरिँदैन्थ्यो। तर, गोली आउँछ भन्ने डरले कुर्सीमाथि चढिन्। तल टेबुलमा कप थियो, त्यसमाथि चक्कु थियो। झ्यालको चुकुल लगाउन खोज्दा हेतल चिप्लिइन्। चक्कु छातीमा लाग्यो।’

हेतलका मामा मनोज भने यो दुर्घटना नभएर हत्या हुन सक्ने बताउँछन्।

‘शरीर हेर्दा त्यो भनेजस्तो घटना होइन। त्यो घटाइएको घटना हो। सिधै हत्या हो। तीनठाउँमा चक्कु प्रहार भएको देखिन्छ। खुट्टामा पनि घाउ छ,’ उनले नेपालखबरसँगको कुराकानीमा भने, ‘किनकि, भान्जीको शरीरको लुगा पनि चेन्ज भएको छ। जुन कपडामा प्रहार गरिएको छ। त्यो कपडा छैन। चक्कु लागेपछि ब्लड हुनुपर्ने हो। च्याएतिएको हुनुपर्ने हो। तर, त्यस्तो केही छैन। घटनास्थलमा पनि ब्लड छैन।’

उनका अनुसार एउटा कोठामा हेतलसहित चारजना बस्थे। त्यस दिन हेतलसँगै अरू दुईजना थिए। एकजना थिइनन्।

होस्टेलको वार्डेन भने अस्ट्रेलियामा छन्।

जेनजी आन्दोलनका कारण नजिकको प्रहरी वृत्त जलाइएकोले मृतकको पोस्टमार्टम हुन सकेको थिएन। आज बिहीबार मात्रै जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेर जाहेरी दिएको उनले बताए।

‘भर्खरै पोस्टमार्टमको लागि जिल्ला प्रहरी परिसर कार्यालय, भद्रकाली पुग्यौँ। अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन। हामीले जाहेरी दिएका छौं। यो दुर्घटना नभई हत्या हो भन्दै उल्लेख गरेका छौँ। छिटोभन्दा छिटो भान्जीलाई न्याय मिलोस्।’

छोरीको मृत्युको खबर सुनेसँगै हेतलका बुवाआमा भावविह्वल छन्। हेतलको हत्या भएकाले छिट्टै न्याय पाउनुपर्ने परिवारको माग छ।

गोदावरी नगरपालिका-३ की २१ वर्षीया हेतल नमुना कलेज अफ फेसन टेक्नोलोजी, कपनमा फेसन डिजाइन कोर्स पढ्दै थिइन्। साथै उनले मोडलिङसमेत गर्दै आएकी थिइन्।

पढाइमा अब्बल र मिलनसार हेतलको मृत्युलाई शंकास्पद रूपमा हेरिएको छ। यतिखेर टिकटकलगायत सामाजिक सञ्जालमा ‘जस्टिज फर हेतल खत्री’ भन्दै ट्रेन्ड चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad