धादिङ र डोटीमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। घटनामा अन्य सात जना घाइते भएको छन्।
सोमबार साँझ धादिङको थाक्रे गाउँपालिका ३ बालुवाखर्कमा चट्याङ पर्दा दुई जनाको मृत्यु भएको छ। अन्य ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
स्थानीय बिजुलीको ट्रान्सफरमरमा चट्याङ पर्दा लेक मल्डुङ, बेसी मल्डुङ र बालुवाखर्कका घरमा हाइ भोल्टेजको करेन्ट प्रभाव हुँदा दुर्घटना भएको हो। करेन्ट लागेर ५० वर्षीय सानुमान तामाङ र २४ वर्षीय सागर अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते उनीहरुलाई उपचारको लागि काठमाडौँ लैजाँदै लाँदै गर्दा बाटोमै मृत्यु भएको हो। उनीहरुलाई चार्जबाट मोबाइल झिक्दा र स्वीच अफ गर्दा करेन्ट लागेको प्रहरीको भनाई छ।
गम्भीर घाइते एकको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको थाक्रे गाउँपालिका ३ का वडाध्यक्ष अमित घलेले जानकारी दिए। घाइते ६ जनाको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ। थाक्रे क्षेत्रमा हरेक वर्ष चट्याङ पर्ने गरेको छ।
त्यसैगरी डोटीको सायल गाउँपालिका ३ तोलेनीमा चट्याङ लागेर २२ वर्षीया उजली बयाडीको मृत्यु भएको छ।
सोमबार दिउँसो आफ्नै खेतमा गहुँ काटिरहको अवस्थामा चट्याङ लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो।

प्रतिक्रिया