समाज


डीएसपी भन्दै प्रहरी जवान थापालाई कुटीकुटी मारियो, आमा र श्रीमती भए बेसहारा

डीएसपी भन्दै प्रहरी जवान थापालाई कुटीकुटी मारियो, आमा र श्रीमती भए बेसहारा

लक्ष्मी बलायर
भदौ २९, २०८२ आइतबार १९:७, काठमाडौँ

जेनजी आन्दोलनको दुई दिनअघि प्रहरी जवान उत्तम थापाले टिकटकमा एक भिडिओ राखेका थिए। भिडिओमा श्रीमती र आफ्नो फोटो राख्दै उनले लेखेका थिए: अब घर आउन ४ दिन बाँकी। र, श्रीमतीलाई सम्झिँदै उनले भिडिओ बनाएको गीत थियो:

झल्को आउँदा यही फोटो हेरी
जोवन धानी बस है मयाले

घर जान निकै उत्साहित देखिन्थे उत्तम। सुदूरपश्चिमको दार्चुला लेकम गाउँपालिका ३, गुमाखोली घर भएका उनी अब कहिल्यै फर्किने छैनन्। गीतकार राजकुमार बगरका शब्दहरूले भनेझैँ उनकी श्रीमतीले अब झल्को आउँदा फोटो हेरेर चित्त बुझाउनुपर्नेछ।

किनकि उत्तमको गत मंगलबार जेनजी आन्दोलनको क्रममा कुटपिटमा परेर उनको मृत्यु भइसकेको छ। गोली चलाउन आदेश दिन डीएसपी भन्दै उनीमाथि निर्घात कुटपिट भएको थियो। जसको भिडिओ यतिखेर टिकटकसहितका सामाजिक सञ्जालमा भाइरल छ। निर्दोष प्रहरीलाई मारेको भन्दै आन्दोलनकारीको निकै आलोचना समेत भइरहेको छ।

उनको मृत्युको खबरले परिवार विह्वल छ। श्रीमती रोइरहेकी छन्। घरका जेठा सन्तान उत्तम ९ वर्षदेखि प्रहरी सेवामा आबद्ध थिए। उनका एक भाइ पनि थिए। तर, सात महिनाअघि घाँसदाउरा गर्नेक्रममा भिरबाट खसेर मृत्यु भयो। जसकारण उनको परिवार नै शोकमा थियो।

गौरापर्व नजिकिएसँगै उत्तमले भाइलाई सम्झिँदै टिकटकमा भिडिओ समेत राखेका थिए। र, भाइसँगैको फोटो राख्दै क्याप्सनमा लेखेका थिए: मेरो भाइ, तिमी कहाँ छौ? गौरा आगई।

उनका बुवाको पनि पहिले नै सुगरले मृत्यु भएको थियो। पहिले श्रीमानपछि एकै वर्ष दुई छोरा गुमाउँदा उनकी आमाको अवस्था बिजोग रहेको वडाअध्यक्ष सुरेश थापाले जानकारी दिए।

‘उसकी आमा एक्लै हुनुहुन्छ। बुवा सातआठ वर्षअघि बित्नुभएको हो। छसात महिनाअघि भाइ पनि बित्यो। एउटै बाँकी थियो, त्यसलाई पनि कुटीकुटी मारे,’ वडा अध्यक्ष थापाले नेपालखबरसँग दु:खी हुँदै भने।

उनका अनुसार उत्तम र सुस्मिताले छसात वर्षअघि बिहे गरेका थिए। उनीहरूका बालबच्चा भने छैनन्। यसअघि उत्तम कैलालीस्थित धनगढीमा खटिएका थिए। तीनचार वर्ष धनगढी बसेका उनी चारपाँच महिनाअघि मात्रै काठमाडौँ सरूवा भएका थिए।

उनीहरूको गाउँमा कच्ची घर छ। खेतीपातीका लागि राम्रो जमिन पनि छैन। जसकारण परिवार नै उत्तममा आश्रित थियो। तर, घरको खम्बा नै ढल्दा परिवारमा ठूलो बज्रपात परेको छ।

थापाले भने, ‘उनीहरूको आर्थिक अवस्था नाजुक नै हो। जग्गाजमिना खासै नहुँदा जीविकोपार्जन गर्न समेत गाह्रो हुन्छ। परिवारको सबै जिम्मेवारी उत्तमले लिएको थियो। अब उसैको मृत्युपछि भाउजुको अवस्था बिजोक छ। काठमाडौँमै एक जना भाइले शव बुझेर पशुपतिनाथमा दाहसंस्कार भइसकेको छ। तर, त्यसरी कुटीकुटी मारेको देख्दा निकै दु:ख लागिरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad