काठमाडौँको गोकर्णेश्वरमा एक महिलामाथि लुटेरा समूहले खुकुरी प्रहार गरेको छ। बिहीबार गोकर्णेश्वर नगरपालिका ७ शिवचोकमा लुटेराको ३ जनाको समूहले स्थानीय महिलालाई खुकरी प्रहार गरेर लुटपाट गरेको वडाध्यक्ष केशव गुरुङले बताए।
लुटपाटमा संलग्न एक जनालाई भने स्थानीयले पक्राउ गरेर प्रहरीको जिम्मा लगाएका छन्। २ जना फरार भएका छन्। महिलालाई उपचारका लागि अस्पताल लगिएको छ।
शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरिएकी महिलाको अवस्था गम्भीर छ। स्थानीय प्रहरीचौकीमा जेनजीले आन्दोलनका क्रममा आगजनी र तोडफोड गरेपछि प्रहरी बस्न सकेको छैन।
पक्राउ परेका व्यक्तिलाई पनि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
अहिले काठमाडौँका अन्य सबै प्रहरी कार्यालयमा थुनुवा राख्न सक्ने अवस्था छैन। यसअघि आन्दोलनका कारण पक्राउ गरेर अनुसन्धान गरिरहेका थुनुवा पनि प्रहरीले छाड्न परेको थियो।
प्रहरीका सयौँ हतियार आन्दोलनकारीले लुट्दा प्रहरी हतियारबिहिन बनेको छ। समाजमा अपराधको जोखिम बढेको छ।
Shares

प्रतिक्रिया