सडक डिभिजन भरतपुरले ढुंगा झर्ने क्रम अझै नरोकिएकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिन भइरहेको बताएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा शुक्रबार साँझदेखि बन्द नारायणगढ–मुग्लिन सडक बन्द छ।
निरन्तर पहिरो खसिरहने समस्याका कारण नारायणगढ–मुग्लिन सडक खुलाउन शनिबार दिनभर गरिएको प्रयास असफल भएपछि आज बिहानैदिख पुन: काम थालिएको छ।
तर ढुंगा खसिरहने समस्या उस्तै रहेको सडक डिभिजन भरतपुरले जनाएको छ।
आइतबार बिहान पहिरो पन्छाइरहेको भिडिओ सार्वजनिक गर्दै सडक डिभिजन भरतपुरले भनेको छ, ‘मुग्लिन-नारायणगढ सडकखण्डको तुइन पुलनजिकै गएको पहिराेका कारण सवारी आवागमन बन्द भएको सर्वविदितै छ। ढुंगा झर्ने क्रम अझसम्म पनि राेकिएकाे छैन। आज बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरि पहिरो पन्छाउने कार्य सुचारु भइसकेको जानकारी गराउछाैँ। थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन कटिबद्ध रहेका छाैँ। सडक सञ्चालनमा नआउन्जेलसम्मकाे लागि कृपया धैर्य गरेर बसिदिनुहुन हार्दिक आग्रह गर्दछौँ।’
भिडिओ-
चितवन जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रवीन्द्र खनालका अनुसार पहिरोका कारण शुक्रबार साँझ ६:२५ देखि नारायणगढ–मुग्लिन सडक निरन्तर बन्द छ। अर्थात् राजधानी काठमाडौँ प्रवेश गर्ने प्रमुख राजमार्ग ठप्प भएको ३८ घण्टाभन्दा बढी भइसकेको छ। जसका कारण सवारीसाधनको लाइन लागेको छ। यात्रुको बिजोग भएको छ।
यो सडक नखुलुन्जेल वैकल्पिक बाटो नौबिसे–दामन–हेटौँडा र मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) बाट गन्तव्यमा पुग्न सकिने सडक सुझाव सडक डिभिजन भरतपुरले दिएको छ।


Shares

प्रतिक्रिया