समाज


मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द: यी हुन् चाडपर्वमा यात्रा गर्ने अन्य वैकल्पिक सडक

मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द: यी हुन् चाडपर्वमा यात्रा गर्ने अन्य वैकल्पिक सडक

कान्तिलोकपथ हुँदै गुडिरहेका गाडी: फाइल तस्बिर


नेपालखबर
असोज ८, २०८२ बुधबार ९:१४, काठमाडौँ

चितवनको इच्छाकामनास्थित तुइनखोलामा खसेको पहिरोले मुग्लिन-नारायणगढ सडक खण्ड अनिश्चित कालको लागि बन्द भएको छ। 

तुइनखोलामा खसेको पहिरो हटाएर कहिलेदेखि सवारी आवागमन सहज हुन्छ, ठेगान छैन। सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख इन्जिनियर नारायण प्रसाद लामिछानेका अनुसार तुइनखोलामा बुधबार साँझ खसेको पहिरो निकै ठूलाे छ। त्याे पहिराे हटाएर यो सडक खुल्न कम्तीमा पनि अरु ४–५ दिन लाग्न सक्छ। 

तर नेपालीहरुको मुख्य पर्व दसैँ संघारमै आइसकेको छ। दसैँको बेला लाखौँ मानिसले राजधानी काठमाडौँ छाड्छन्। राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग नै मुग्लिन- नारायणगढ सडक हो। 

यो सडक बन्द भएको अवस्थामा अन्य वैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न सडक डिभिजन कार्यालयदेखि स्थानीय प्रशासनसम्मले अहिले यात्रुहरूलाई आग्रह गरिरहेका छन्। 

नारायणगढ-मुग्लिन सडकको विकल्पमा यात्रुले काठमाडाैँबाट देशभर आवतजावतका लागि चार/पाचवटा वैकल्पिक सडक प्रयोग गर्न सक्छन्। 

स्थानीय प्रशासनले चितवन-काठमाडौँ आवत जावत गर्ने साना गाडीले चितवनको जुटपानी-शक्तिखोर- मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्ने जनाएको छ। 

त्यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्कने त्रिभुवन राजपथको बाटोलाई पनि वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने छ। याे नेपालकाे निकै पुरानाे सडक हाे।

यस्तै मकवापनुरको हेटौँडाबाट भैँसे-भीमफेदी-कुलेखानी- सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर पनि साना सवारी साधनमा यात्रा गर्न सकिन्छ। फर्पिङ-कुलेखानी हुँदै हेटौँडा निस्कने याे सडक झण्डै ९० किलोमिटर लामाे छ।

ठूला सवारी साधनले भने हेटौँडा-काठमाडौँ आवत जावत गर्दा कान्तिलोकपथ प्रयोग गर्न सक्ने स्थानीय प्रशासनले जनाएको छ।काठमाडौँकाे सातदाेबाटाेबाट ललितपुरको टीकाभैरव, नयाँगाउँ, झाँक्रीडाँडा, काल्चेभीर, ठिंगन, मकवानपुर गढी हुँदै हेटौँडा निस्कने याे सडक झण्डै ८० मिलोमिटर लामाे छ। 

चितवनबाट पोखरा जाने यात्रुका लागि ठूला तथा साना दुवै सवारी साधनले बुटवल हुँदै पोखरा जान सक्नेछन्।

चितवनबाट साना गाडीले कालीगण्डकी करिडोर हुँदै गैँडाकोट पाल्पा रामपुर, भिमाद हुँदै तनहुँ जान सक्ने पनि स्थानीय प्रशासनले जनाएको छ। 

त्यसैगरि पूर्वी तराई र पहाडी जिल्ला तर्फ जाने सवारी साधनले बनेपा-बर्दिबास-सिन्धुली सडक प्रयोग गर्न सक्नेछन्।

गत वर्ष असोज १२ गते गएको बाढी पहिरोले सिन्धुली-बर्दिबास सडक खण्डको केही भाग कटान गरेको भए पनि हाल मर्मत गरेर यो सडकमा निर्वाध रुपमा गाडीहरु चलिरहेका छन्। काठमाडौँबाट बनेपा-खुर्कोट-सिन्धुली हुँदै बर्दिबास पुग्न १६० किलोमिटर छ। 

मुग्लिन-नारायणगढ सडकको विकल्पमा अहिले तराईलाई काठमाडौँसँग जोड्ने धेरैवटा सडकमार्ग बनिसकेका छन्। बर्खाको बेला सडक केही बिग्रे भत्केको अवस्थामा भए पनि ती सडक भएर अहिले दुःखसुख गाडीहरू गुडिरहेकै छन्।

त्यसैगरि काठमाडाैँकाे गुर्जुधाराबाट मातातीर्थ चन्द्रागिरि हुँदै कुलेखानी निस्कने छोटो सडकमा पनि अहिले साना सवारी सञ्चालन भइरहेका छन्। 

ती वैकल्पिक सडक मार्ग भएर आजभोलि दैनिक हजारौँ साना र मझौला  सवारीसाधन आवतजावत गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad