गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) चीनले नेपाल प्रहरीको उपत्यका प्रहरी कार्यालय, काठमाडौंलाई करिब १० लाख रुपैयाँ बराबरका विभिन्न सामग्री सहयोगस्वरूप हस्तान्तरण गरेको छ। जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माणको लागि सो सहयोग गरिएको हो।
उपत्यका प्रहरी कार्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी गरिएको सहयोगअन्तर्गत १० वटा सोफा सेट, ४० वटा अफिस कार्य टेबल, ४० वटा भिजिटर कुर्सी, २० वटा चिया टेबल तथा १५ वटा स्टील दराज (क्याबिनेट) उपलब्ध गराइएको हो।
कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा बद्री केसी, एनसीसी चीनका अध्यक्ष मुकुन्द ढकाललगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो।
कार्यक्रममा मन्तव्य राख्दै एनसीसी चीनका पदाधिकारीहरूले नेपाल प्रहरीलाई आवश्यक सामग्री सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सकेसम्म योगदान गर्दै जाने प्रतिबद्धता जनाए।

एनआरएनए अध्यक्ष डा बद्री केसीले विश्वभर रहेका गैरआवासीय नेपालीले मातृभूमिको विपद् र संकटका घडीमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै, जेनजी आन्दोलनका क्रममा मुलुकमा भएको क्षतिको पुनर्निर्माण र अन्य आपतकालीन अवस्थामा एनआरएनए सधैं तयार साथै नेपाल सरकारका पुनर्निर्माणका पहलमा निरन्तर सहकार्य गर्ने बताए।
उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जनताको शान्ति–सुरक्षामा अहोरात्र खटिरहने हुँदा यस विषम परिस्थितिमा एनआरएनएबाट प्राप्त सहयोगप्रति हार्दिक धन्यवाद प्रकट गरे।
Shares

प्रतिक्रिया