समाज


जसले क्यान्सरसँग जुध्दै बिहे गरेर बसाए घरबार

निःशुल्क औषधिले राहत, पाटन अस्पतालमा मात्र १ हजारले पाउँछन्
जसले क्यान्सरसँग जुध्दै बिहे गरेर बसाए घरबार

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही तेस्जव श्रेष्ठलाई ‘बहादुर बिरामी’को संज्ञा दिन्छन्।


प्रज्ञा तिम्सिना
असोज १७, २०८२ शुक्रबार ७:५८, काठमाडौँ

कल्कलाउँदो  उमेर। भरपूर जोसजाँगर। राम्रो शिक्षा आर्जन गरेर पुग्दो पैसा कमाउने र चाँडै विवाह गर्ने उनको योजना थियो। तर, उनलाई सताउँथ्यो घाँटीको दुखाइले। 

परिवारको आशा र जिम्मेवारी आफ्नो काँधमा भएकाले दुखाइमा आराम गर्न पाएनन् उनले। तर, विस्तारै उनलाई बोल्न पनि समस्या हुन थाल्यो। 

आत्तिएको परिवारले उनलाई भक्तपुर क्यान्सर अस्पताल पुर्‍यायो। चिकित्सकले सुरुमा नै क्यान्सर हुन सक्ने संकेत गरे र बायोप्सी गर्न सुझाए।

क्यान्सर शब्द सुन्नेबित्तिकै तेस्जव श्रेष्ठ भावुक भए। सँगै उनको परिवारका सदस्य पनि। 

‘म उभिएको जमिन नै हल्लिएको जस्तो भएको थियो,’ उनी त्यो दिन सम्झिँदै भन्छन्।

नभन्दै रिपोर्टमा उनलाई क्यान्सर देखियो। तेस्जवलाई लाग्यो– अब बाँच्दिन होला!

त्यसरी हरेश खाएका तेस्जव अहिले आफ्नो कथा हाँसीहाँसी सुनाउँदैछन्। कारण पहिला अत्याएको क्यान्सरलाई उनी जित्दैछन्। 

एक दशकभन्दा बढी भयो तेस्जवले क्यान्सरसँगको लडाइ लडिरहेको। थाइराइडको क्यान्सर भएका ३७ वर्षीय तेस्जवलाई अझै पनि बोल्न समस्या छ। सुरुमा भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएका तेस्जव हाल पाटन अस्पताल पुगिरहेका छन्। क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले उनको उपचार गरिरहेका छन्। 

तेस्जवलाई डा अरुण ‘बहादुर बिरामी’को संज्ञा दिन्छन्। 

‘क्यान्सरसँगको लडाइँसँगै उनले विवाह गरेर छोराछोरी पनि जन्माइसके,’ डा अरुणले सुनाए।

२२ वर्ष हुँदादेखि क्यान्सरसँग लडिरहेका उनको यसैबीच विवाह भयो। उनका दुई सन्तान पनि छन्। हाल सामान्य व्यक्ति जसरी नै पारिवारिक जीवन बिताइरहेका तेस्जवको क्यान्सर निको हुँदैछ।

निःशुल्क औषधिले पलाएको बाँच्ने आशा 
काठमाडौँका तेस्जवको जस्तै कथा छ, धनुषाकी चन्द्रकला भुजेलको पनि। मिर्गौलामा समस्या देखिएपछि उपचारका लागि पुगेकी चन्द्रकलालाई चिकित्सकले मिर्गौलामा ट्युमर पलाएको बताएका थिए। ट्युमरको बायप्सी गर्दा क्यान्सर भएको पुष्टि भयो। २ सन्तानकी आमा चन्द्रकलालाई अत्यास नै पर्‍यो।

अहिले भने उनमा क्यान्सरलाई जित्न सक्ने आँट आएको छ। तीन वर्षदेखि उनी पाटन अस्पतालमा उपचार गराइरहेकी छन्।

अस्पतालले उनलाई निःशुल्क औषधि प्रदान गर्दै आएको छ। जसबाट उनको उपचार केही सहज भएको छ।

‘नियमित औषधि सेवनबाट क्यान्सर निको हुन्छ भन्नु भएको छ। औषधि पनि निःशुल्क दिनुहुन्छ, अब बाँचिन्छ कि भन्ने आशा पलाएको छ,’ चन्द्रकला खुसी हुँदै सुनाउँछिन्। 

डा अरुण अमेरिकाको म्याक्स फाउन्डेसनबाट निःशुल्क औषधि प्रदान हुँदा बिरामीलाई सहज भइरहेको बताउँछन्। पाटन अस्पतालले फाउन्डेसनसँग समन्वय गरेर विभिन्न क्यान्सरमध्ये केही क्यान्सरको निःशुल्क औषधि उपलब्ध गराइरहेको हो।

अस्पतालले औषधि खानुपर्ने सबै बिरामीको सम्पूर्ण विवरण पठाउने गर्छ। फाउन्डेसनले बिरामीको विवरण परीक्षण गरेर औषधि पठाउने गरेको डा अरुणले बताए। 

म्याक्स फाउन्डेसनले औषधि पाटन अस्पतालसँगै चितवनको बीपी कोइराला क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि पठाउने गरेको छ। 

पाटन अस्पतालमा मात्र फाउन्डेसनबाट आएको औषधि सेवन गर्ने १ हजार क्यान्सर रोगी छन्। ८० हजार देखि ४ लाखसम्म शुल्क पर्ने औषधि फाउन्डेसनको सहयोगमा बिरामीले पाएका छन्। फाउन्डेसनले १३ प्रकारका औषधि निःशुल्क दिँदै आएको अस्पतालले जनाएको छ।

स्टेज फोरको दुःख
फोक्सोको क्यान्सर देखिएका धनुषाका ५४ वर्षीय सन्तोषकुमार गुप्ता पनि पाटन अस्पतालमा उपचार गराइरहेका छन्। सन्तोषले पनि निःशुल्क रूपमा आएको औषधि पाउँछन्। उनको क्यान्सर ‘स्टेज फोर’मा रहेको चिकित्सकको भनाइ छ।

सन्तोषको क्यान्सर पूर्ण रूपमा निको नभएपछि चिकित्सकले उनलाई औषधिसँगै जीवनस्तर सुधार गर्न सल्लाह दिएका छन्।

हाल पाटन अस्पतालमा १२० जना स्टेज फोर क्यान्सर रोगीको उपचार भइरहेको छ। जसमा ८० जना स्तन क्यान्सर भएका महिला छन् भने ४० जना फोक्सोको क्यान्सरका छन्। 

डा शाहीका अनुसार क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा पुगेपछि त्यो ‘स्टेज फोर’मा गणना हुन्छ।

‘स्टेज तीनसम्मको क्यान्सर उपचारपछि निको हुन्छ, तर स्टेज फोरको क्यान्सर सामान्यतया निर्मूल हुँदैन,’ डा शाहीले स्पष्ट पारे।

स्टेज फोरका बिरामीहरूमा केमोथेरापी, टार्गेटेड थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, र शल्यक्रियाबाट उपचार गर्ने गरिएको छ। 

थेरापीपछि शरीरबाट क्यान्सर कोष पूर्ण रूपमा हराउन सक्छ। स्टेज फोर क्यान्सर देखिएका बिरामीको जीवनस्तर सुधार गर्न सकिन्छ। पूर्ण रूपमा निको बनाउन सकिँदैन,’ डा शाही भन्छन्, ‘स्टेज थ्रीसम्म बिरामीको क्यान्सर निर्मुल पार्न सकिन्छ। तर, स्टेज फोर पुगेका बिरामीको औषधिको सेवनबाट जीवनस्तर सुधार गर्न सकिन्छ, निको भने हुँदैन।’

स्तन क्यान्सर, फोक्सोको क्यान्सर, जिस्ट, सीएमएल र डर्माटोफाइब्रोसार्कोमा जस्ता क्यान्सरहरू स्टेज फोर भएपछि पनि उपचारले शरीरबाट पूर्ण रूपमा हटाउन सकिएको उनले जनाए।

उपचारमा अत्यावश्यक पर्ने रेडियोथेरापी मेसिनको अभावका कारण भने बिरामीको उपचार प्रभावित भएको छ। हाल बीपी कोइराला, सिभिल र भक्तपुर क्यान्सर अस्पताल, वीर अस्पतालमा मात्र रेडियोथेरापी मेसिन छ। 

नेपालमा कति छन् क्यान्सर रोगी?
खानपान, जीवनशैली, र वंशाणुगत रूपमा बढेको क्यान्सर रोग नेपालमा नसर्ने रोगहरूमध्ये पहिलो नम्बरमा पर्छ। विश्वमा रोगका कारण धेरै मानिसको मृत्यु क्यान्सरले नै हुने गरेको छ। 

क्यान्सर रोग विशेषज्ञ डा शाहीका अनुसार मानव शरीरमा अनगिन्ती कोषिकाहरू हुन्छन्। यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरूको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ। तर, खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरूको वृद्धि अनियन्त्रित हुन्छ। 

शाही भन्छन्, ‘कोषिकाहरूको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो।’

बासी, सडेगलेका, पोलेको खाना खाने व्यक्ति पनि क्यान्सरको जोखिममा हुन्छन्। फलफूल सड्नबाट बचाउन सक्ने औषधि, धुलोधुँवा, कलकारखानाबाट निस्कने धुलोधुँवाका कारण क्यान्सर अहिले मधुमेह, उच्च रक्तचाप जस्तै धेरै मानिसमा देखापर्ने रोग बनेको शाही बताउँछन्।

‘हाम्रो जीवनशैलीका कारण क्यान्सर भयावह रूपमा बढ्न थालेको छ,’ उनले बताए। 

संसारभरमा २०० भन्दा बढी क्यान्सरका प्रकार पत्ता लागिसकेको भन्दै डा शाहीले नेपालमा फोक्सोको क्यान्सर, पेटको क्यान्सर, ठूलो आन्द्राको क्यान्सर, मुखको क्यान्सर र रगतको क्यान्सर बढी देखिएको बताए। महिलाहरूमा भने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, डिम्बाशयको क्यान्सर धेरै देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अनुसार नेपालमा हुने कुल मृत्युमध्ये दुई तिहाइभन्दा बढी हिस्सा अर्थात् ७१ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुन्छ। यसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरको कारण हुने गरेको तथ्यांक छ।

नेपालमा करिब ५ लाख व्यक्ति क्यान्सर रोगी रहेको आकलन गरिएको छ। मन्त्रालयका अनुसार नेपालमा वार्षिक २० देखि ३० हजार क्यान्सरका नयाँ बिरामी भेटिने गरेका छन्। वार्षिक १५ देखि १८ हजार क्यान्सर रोगीको मृत्यु हुने गरेको देखिन्छ। 

पाटन अस्पतालमा मात्र दैनिक ८० देखि १२० जना क्यान्सर रोगी उपचारमा आउँछन्। अस्पतालमा २६ शय्या क्यान्सरका बिरामीलाई किमोथेरापी दिन तोकिएको छ। 

एक वर्षमा एक अर्ब ११ करोड सहयोग
विश्वभर क्यान्सर रोगको उपचार निकै महँगो मानिन्छ। विपन्न नागरिकका लागि यो पहुँचबाहिर जस्तै भएकाले सरकार तथा विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्दै आइरहेका छन्। 

स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रालयको विपन्न नागरिक औषधि उपचार कोषबाट एक लाख र प्रदेशले ५० हजारदेखि दुई लाख रूपैयाँसम्म अनुदान दिने गरेको छ। 

गत आर्थिक वर्षमा केन्द्र सरकारबाट सहयोगस्वरूप एक अर्ब ११ करोडभन्दा बढी खर्च भएको मन्त्रालयले जनाएको छ। 

हाल नेपालमा क्यान्सरका डेडिकेटेड सरकारी अस्पताल तीन वटा मात्रै छन्। जसमा भक्तपुर क्यान्सर अस्पताल, भरतपुर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र नेपालगंजस्थित सुशील कोइराला क्यान्सर अस्पताल छ। 

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, धरानस्थित बीपी कोइराला अस्पताल, कान्ति बाल अस्पताललगायतमा पनि क्यान्सरको उपचार हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad