राष्ट्रिय मानव अधिकार आयोगले दसैँ, तिहार तथा छठलगायतका सार्वजनिक बिदामा पनि आफ्नो कार्यालयहरू खुला रहने भएको छ।
आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै बिदामा पनि कार्यालय खुला हुने जानकारी दिएका हुन्।
आयोगले सार्वजनिक बिदाको दिन बिहान ११ बजेबाट दिउँसो २ बजेसम्म उजुरी दर्ता लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न कार्यालय सञ्चालन हुने जानकारी दिएको हो।
यसअन्तर्गत आयोगको केन्द्रीय कार्यालय, हरिहरभवन ललितपुरसहित प्रदेश र शाखा कार्यालयहरू समेत खुला रहने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।
मानव अधिकार उल्लङ्घनका घटना भएमा नजिकको कार्यालयमा तत्काल जानकारी दिन आयोगले सर्वसाधारणलाई आग्रह गरेको छ।
चाडपर्वका समयमा सार्वजनिक आवतजावतमा कठिनाइ, अपराधका घटना, महँगी र कालोबजारी बढ्ने सम्भावना रहने भएकाले यस अवधिमा शान्ति–सुरक्षा र सेवा प्रवाहलाई चुस्त बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने आयोगको भनाइ छ।
१२ असोज, २०८२
दशैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने
सार्वजनिक सेवा प्रवाह र शान्तिसुरक्षालाई प्रभावकारी बनाउ
राष्ट्रिय मानव अधिकार आयोगका कार्यालयहरु दशैँ, दिपावली तथा छठ पर्वका बिदाका दिनहरुमा पनि खुला रहने छन् । मानव अधिकारको उल्लङ्घनका घटनाको उजुरी लिन र आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रिय कार्यालय, हरिहरभवन, ललितपुर तथा प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु बिदाका दिनहरुमा पनि बिहान ११.०० बजेदेखि दिउँसो २.०० बजेसम्म खुला रहने व्यवस्था गरिएको हो । मानव अधिकार उल्लङ्घनका कुनै घटना घटेमा आयोगका नजिकका कार्यालयहरुमा तत्काल जानकारी गराउन आयोग सबैमा अनुरोध गर्दछ ।
सार्वजनिक बिदा तथा चाडपर्वको समयमा सर्वसाधारणको आवतजावतमा कठिनाइ उत्पन्न हुने, अपराधका घटनामा वृद्धि हुने, महँगी तथा कालोबजारी बढ्ने, सार्वजनिक सेवा प्रवाह र सहज आपूर्तिमा अवरोध सिर्जना हुने जस्ता क्रियाकलाप हुने संभावना रहने हुँदा चाडपर्वको समयमा सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउन र शान्तिसुरक्षाको अवस्थालाई मजबुत बनाउन आयोग सरकारलाई निर्देशन गर्दछ । साथै, सेवा प्रवाहलाई चुस्त बनाउने र शान्ति सुरक्षालाई मजबुत बनाउने सरकारको कार्यमा सहयोग गर्न आयोग सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।
.........................
डा. टीकाराम पोखरेल
सहसचिव/प्रवक्ता
Shares

प्रतिक्रिया