सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् व्यवस्थापन र उद्धारका लागि २ हजार ६ सय ६१ जनशक्ति परिचालन गरेको छ।
शनिबार बिहानदेखि सुरु भएको वर्षाबाट जनधनको सुरक्षा गर्न २६ सय बढी जनशक्ति खटाएको हो। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सशस्त्र प्रहरी बलका नायव उपरीक्षक लक्ष्मण बस्नेतले ३ सय ३२ स्थानमा २ हजार ६ सय ६१ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटाएको बताए।
विभिन्न नदी तटीय क्षेत्र, राजमार्ग, समुदायमा गएर माइकिङ गर्ने सचेतनाका लागिदेखि उद्धारका सामग्रीसहित परिचालन भइरहेको जानकारी दिए। हालसम्म कुनैपनि गम्भीर किसिमको घटनाको सूचना प्राप्त नरहेको बताए। ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरू लगाएर बोराहरु हाल्ने काम भएको बताए।
१ सय २९ वटा र्याफ्टिङहरू कोसी, गण्डकी, वागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन गरिएको पनि बताए। उद्धार टोली र एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ राखिएको बताए।
६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको जानकारी दिए। उनले सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाएर सतर्क पारिएको बताए।
उनले भने, ‘केही ठाउँहरुमा पहिरो गएर बाटो अवरुद्ध भएको छ। ५० मिटर जति नदीले सडक कटान गरेको ठाउँमा बाँसहरु लगाएर बोराहरु हाल्ने काम भएको छ। १ सय २९ वटा र्याफ्टिङहरु कोशी, गण्डकी, बागमती प्रदेशहरुमा, मधेस प्रदेशमा परिचालन भएको छ। एम्बुलेन्सहरु सबै स्ट्याण्डबाइ छ, उद्धार टोलीहरु तैनाथ छन्। ६७ जिल्लाका विभिन्न स्थानहरुमा माइकिङ गरेर सचेत रहनका लागि अनुरोध गरिरहेको अवस्था छ। सामाजिक सञ्जालमार्फत मनसुन सचेतनाका लागि सामग्रीहरु पठाउँदै आएको छ।’
उनले ३ हजार ६ सय ३६ जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिलाई अहिलेको अवस्थामा विभिन्न उपकरणसँगै उद्धारमा जुट्न तयारी अवस्थामा रहन निर्देशन दिएको बताए।
हिमाली क्षेत्रमा पुगेका पर्यटकलाई हिमपात हुनसक्ने पूर्वानुमानअनुसार सुरक्षित स्थानमा फर्किन आग्रह गरिएको बताए।
Shares

प्रतिक्रिया