सशस्त्र प्रहरी बल,नेपालले आफ्ना हरेक युनिटबाट ३५ जनाको फौज विपद् उद्धारमा परिचालन गरेको जनाएको छ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले जल तथा मौसम विज्ञान विभागले एक साताअगावै पूर्वानुमान गरेअनुरूप विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको र सोहीअनुसार काम गरेको जानकारी दिए।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८२ अन्तर्गत रहेर सशस्त्र प्रहरीको सम्पूर्ण जनशक्तिलाई तम्तयारी अवस्थामा राखिएको उनको भनाइ छ।
नेपालभर ७ हजार ६१५ जनशक्तिलाई तयारी अवस्थामा राखेको, यसमा १३५ जना गोताखोर र ३ हजार ९०० जना विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्ति रहेको उनले बताए।
देशका विभिन्न स्थानमा ३३ वटा मोटरबोट, ९६ वटा र्याफ्टिङ बोट गरी १२९ वटा बोटलाई विपद्को इलाकामा तैनाथ गरिएको जानकारी पनि उनले दिए।
उनका अनुसार, १ लाख ६८ हजार ६९५ जना विपद् सूचकहरूसँग पनि विपद् व्यवस्थापनमा समन्वय गरिएको छ। ९९० जना तालिम प्राप्त समुदाय विपद् स्वयंसेवकहरूसँग सहकार्य गरिएको छ। काठमाडौं, रौतहट, झापा र इलाममा उद्धारको काम भइरहेको छ।
काठमाडौंको बल्खुस्थित बाग्मती आसपासमा बसोवास गर्ने १०० जना सुकुम्बासीलाई जनविकास मावि, बल्खुमा स्थानान्तरण गरिएको छ।
रौतहटको गजुरा नगरपालिका-५, हरिपुरमा डुबानमा रहेका १९ घरधुरीका ७५ जनालाई स्थानीय जागृति आधारभूत माविमा स्थानान्तरण गरिएको छ।
झापाको झापा गाउँपालिकामा ५१ घरमा पानी पसेकोले कुमारी माविमा स्थानान्तरण गरिएको छ। झापाकै गौरीगञ्जस्थित झोराबस्तीमा १०५ घरमा पानी पसेकाले उक्त घरमा बसोवास गर्ने मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
१८ गतेदेखि विपद् उद्धारमा सशस्त्र प्रहरीका विभिन्न युनिटहरूबाट ९ हजार ३४६ जना परिचालन सुवेदीले बताए।
इलामको इलाम नगरपालिका, माङ्सिबुङ गाउँपालिका र सूर्योदय नगरपालिकामा गरी १६० जना शसस्त्र प्रहरी कर्मचारी उद्धारमा परिचालन गरिएको उनले जानकारी दिए।
Shares

प्रतिक्रिया