रसुवाको लाङटाङमा पदयात्राका क्रममा बाटोमा फसेका १२ जनालाई स्याफ्रुबेसी ल्याइएको छ। भक्तपुरबाट पदयात्राका लागि लाङटाङ गएका १६ जनामध्ये १२ जनालाई सोमबार (आज) दिउँसो स्याफ्रुबेसी ल्याइएको जिल्ला प्रशासन कार्यालय, रसुवाले जनाएको छ।
स्थानीय जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय प्रशासनको सहयोगमा उनीहरुलाई स्याफ्रुबेसी ल्याइएको जिल्ला प्रशासन कार्यालय, रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।
उनीहरुलाई आजै भक्तपुर पठाउने तयारी भैरहेको उनले बताए।
‘स्याफ्रुबेसीबाट करिब ५ घण्टा लाग्ने ठाउँबाट बल्लतल्ल बजारसम्म ल्यायौं, प्रमुख जिल्ला अधिकारी पन्थीले भने, ‘जिल्लाका सबै सुरक्षा संयन्त्र लागेर उहाँहरुको उद्धार गर्यौं। अब त्यो समूहको पनि ८ जना गाडिमा भक्तपुर फर्कन तयार हुनुभएको छ भने ४ जना आफ्नै खर्चमा हेलिकप्टरमा जाने भन्नुभएको छ। आज रातिसम्ममा उहाँहरुलाई भक्तपुर पुर्याउने व्यवस्थामा प्रहरीहरु जुट्नुभएको छ।’
गत शुक्रबार पदयात्रा गर्न लागि लाङटाङको यात्रामा निस्किएका भक्तपुरका १६ जनामध्ये ४ जनालाई शनिबार साँझ गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाएको थियो। बाढीमा बेपत्ता उनीहरुको आज पनि खोजीकार्य भैरहेको छ भने सकुशल रहेका अन्य १२ जनालाई घर फर्काइन लागेको हो।
बेपत्ता हुनेहरुमा भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–४ दधिकोटका २६ वर्षीया संगीता श्रेष्ठ, उनका बैनी २४ वर्षीया संस्कृति श्रेष्ठ र भाइ २० वर्षका किसन श्रेष्ठ र भक्तपुर नगरपालिका–१० का २३ वर्षीय रवि श्रेष्ठ रहेका छन्।
नेपाली सेनाले ड्रोनमार्फत उनीहरुको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिए।
Shares

प्रतिक्रिया