उदयपुरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि भारतसँग जाेडिएका प्रदेश नम्बर २ का सिरहा र सप्तरीका सीमा-नाका सिल गरिएको छ।
यो प्रदेशका ८ जिल्ला भारतीय सीमासँग जोडिएका छन्। ४ सय २८ किलोमिटर लामो सीमा क्षेत्रमा ३ सय २९ चेक प्वाइन्ट राखिएका छन्।
खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले सीमा(नाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो।
उदयपुरको भुल्केमा मात्रै २८ जना कोरोना संक्रमित भेटिइसकेका छन् भने अझै परीक्षण जारी छ।
याे पनि: उदयपुर भुल्केका कोरोना शंकास्पद ५१३ काे पीसीआर परीक्षण, अब १०० रिपोर्ट आउन बाँकी
यसैबीच भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ। पर्साका अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट ती भारतीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
उनीहरुलाई वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टिनमा राखिएको छ। अहिले त्यहाँ रहेका १ सय २४ भारतीयलाई ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले निःशुल्क खाने/बस्ने व्यवस्था गरिरहेको अध्यक्ष प्रकाश खेतानले जानकारी दिए।
गत चैत १९ गतेदेखि सो केन्द्र र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा यस्ताे व्यवस्था मिलाइएको उनले बताए।रासस

प्रतिक्रिया