भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ठूलो मानवीय र भौतिक क्षति भयो। आन्दोलनका कारण तत्कालीन सरकार ढल्यो र नयाँ सरकार बन्यो। आन्दोलनका क्रममा तत्कालीन सरकारबाट भएको दमनप्रति जनमानसमा चरम असन्तुष्टि र आक्रोश व्याप्त छ।
जेनजी पुस्ताले उठाएका भ्रष्टाचार, बेथिति र नातावाद संस्कृतिका सवालमा आम जनमानसको समर्थन देखियो। तर, यो पुस्तालाई कतिले राजनीतिक, सामाजिक र आलोचनात्मक चेत नभएको हावा तथा अस्थिर पुस्ता भनेर खिसीट्युरी गर्न थालेका छन्।
समाज विकास तथा शिक्षा सवालका अध्येता विमलकुमार फुयाँल भन्छन्, ‘उनीहरूलाई त्यसो भन्नेले आफैँलाई प्रश्न गर्नुपर्छ। यो पुस्ताको सामाजिकीकरण घरपरिवार र समाजबाट मात्र होइन, विश्वबाट समेत भइरहेको छ। उनीहरूले ज्ञान र मूल्यमान्यता ग्रहण गर्ने तरिका फरक छ। यो पुस्तालाई फरक तरिकाले बुझ्नुपर्छ। उनीहरूले भ्रष्टाचार र नातावाद जस्ता मुद्दा उठाएर समस्याको जरा पक्डेका छन्।’
जेनजी आन्दोलनमार्फत भ्रष्टाचार र बेथितिप्रति समाजमा व्याप्त आक्रोश र असन्तुष्टि सडकमा पोखिएको उनको विश्लेषण छ।
‘राज्यका निकाय र कार्यालयमा जाँदा घुस नखुवाई काम नहुने र समयमा काम नहुने बेथितिबाट समाजमा असन्तुष्टि थियो,’ फुयाँल भन्छन्, ‘घुसखोरी एउटा समस्या हो। नीतिगत भ्रष्टाचार अझ खतरनाक हो।’

आमजनतालाई न्याय हुने खालको नभई, कुनै एउटा निश्चित वर्ग वा स्वार्थ समूहलाई मात्र फाइदा हुने नीति होइन, आमसमुदायप्रति जवाफदेही हुनुपर्छ भन्ने सन्देश जेनजी पुस्ताले दिएको फुँयाल बताउँछन्।
अन्तरिम सरकार, राजनीतिक दल, कर्मचारीतन्त्र, उद्योग, व्यापार, पर्यटन, पत्रकारिता हरेक क्षेत्रले यो गहन सन्देश बुझ्नुपर्ने उनको राय छ।
फुयाँलका अनुसार, नातावाद संस्कृतिविरुद्धको सवाल उठाएर उनीहरूले असमानताविरुद्धको आवाज उठाएका छन्। उनी भन्छन्, ‘शक्तिमा पहुँच भएका परिवारका नयाँ पुस्ताले उच्चस्तरको जीवन र अर्को थरीले आधारभूत कुराको पनि अवसर नपाएकोमा असमानताविरुद्धको आवाज उठेको हो। ठूलो समूह अवसरबाट वञ्चित भएको उनीहरूले महसुस गरेका छन्।’
सामाजिक मूल्यमान्यता, असल आचरण, नागरिक चेतना, कर्तव्य र अधिकार, हाम्रो सम्पदा तथा हाम्रो विगत र विभिन्न राजनीतिक आन्दोलनका उपलब्धि लगायतका विषयवस्तुमा विद्यालय तहदेखि नै धेरथोर पढाइ हुँदै आएको छ।
तर, जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, निजी सम्पत्ति, शैक्षिक संस्थामा आगजनी भयो, तोडफोड भयो। चोरी र लुटपाट भयो। कति ठाउँमा कलिला तथा युवा विद्यार्थी र परिपक्व प्रौढ समेत यसमा संलग्न भएको देखियो। कति ठाउँमा चाहिँ युवाहरूले सरकारी तथा निजी सम्पत्ति जोगाएको पनि देखियो। जेनजी आन्दोलनपछि नैतिक शिक्षाको कुरा समेत उठेको छ।

‘संसारभरिको सिकाइ के छ भने सरकार, दल, संसद् कतैबाट पनि बेथितिविरुद्ध सुनुवाइ भएन भने समाजबाट अहिंसात्मक आन्दोलन हुने गर्छ। हाम्रोमा लामो समयसम्म असन्तुष्टि र आक्रोश प्रकट भएन,’ समाज विकास तथा शिक्षा सवालका अध्येता फुयाँल भन्छन्, ‘दलहरूले वास्ता गरेनन्। हामीमाथि प्रश्न उठाउनु हुँदैन भन्ने भयो। समयमा अहिंसात्मक आन्दोलन भएन भने जतिबेला विस्फोट हुन्छ, त्यहाँ हिंसा हुन्छ। यो मानवशास्त्रीय पाटो हो।’
जेनजी आन्दोलनले अब विद्यार्थीलाई आलोचनात्मक चेतसहित प्रश्न गर्न सिकाउनुपर्ने सन्देश दिएको उनको निष्कर्ष छ।
‘विद्यार्थीलाई अनैतिक कुरामा सही समयमा आलोचनात्मक ढंगबाट प्रश्न गर्न सिकाउनुपर्छ। ठूलाले भनेको मान्ने परम्परागत नैतिक शिक्षाको कुरा भन्दा पनि जहाँ अनैतिक कार्य भएको छ त्यहाँ प्रश्न गर्न सक्ने बनाउनुपर्छ। यसबाट भ्रष्टाचार र कुशासन रोक्न ऊर्जा निर्माण हुन्छ,’ फुयाँल भन्छन्, ‘आफू अनैतिक बनेर अरूलाई प्रश्न गर्न सकिँदैन भन्ने बुझाउनुपर्छ। सम्पत्तिको स्रोत खुलाउन नसक्ने छिमेकीले सम्पत्ति जोड्दा प्रश्न गर्ने कि बधाई दिन जाने? यो कुरा सिकाउनुपर्छ। भ्रष्टाचार तिमीहरूका लागि गरेको हो भन्ने बाबुआमालाई पनि प्रश्न गर्न सक्ने हुनुपर्छ।’
नैतिकता वा नागरिक चेतको विकास वा यससम्बन्धी सिकाइ विद्यालय र विश्वविद्यालयको कक्षाकोठाबाट मात्र नभई घरपरिवार, समाज, राजनीतिक दललगायत अन्यत्रबाट पनि प्रभावित भइरहेको हुन्छ। सबैतिर नागरिक चेतसम्बन्धी सिकाइमा रूपान्तरण हुन जरुरी रहेको उनको भनाइ छ।
‘दलहरूले आफ्ना सदस्यलाई ढुंगा हानेर हुन्छ कि के गरेर हुन्छ अर्को समूहलाई सकाउने संस्कार सिकाइरहेका हुन्छन्। यो छोडेर बहस, संवाद र सम्मान गर्ने संस्कारमा रूपन्तरण गर्न जरुरी छ,’ फुयाँलको भनाइ छ।
उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०७५ का सदस्यसमेत रहेका फुयाँलसँग झन्डै ३ दर्जन देशमा क्रिटिकल तथा क्रियटिभ पेडागोजी विषयमा तालिम सञ्चालन गरेको अनुभव छ।
उनको अध्ययनमा जेनजी आन्दोलनले अब कक्षाकोठामा जुनसुकै विषय पढाउँदा किताबका कुरा बुझ्ने मात्र होइन, अभ्यासमा आधारित सिकाइ आवश्यक भएको सन्देश दिएको छ।

उनी भन्छन्, ‘आलोचनात्मक र सृजनात्मक शिक्षण विधिमा जोड दिँदै शिक्षालाई अनुभव र अभ्यास गर्ने तहमा लानुपर्छ। अब कक्षाकोठा समाजमा पनि लानुपर्छ। कक्षाकोठाभित्र छलफल गर्ने एउटा पाटो हो। कक्षा नै समाजमा लाने अर्को तरिका हो। विषयवस्तुको आवश्यकताअनुसार विश्वविद्यालय, कलेज र स्कूलका कक्षाकोठा समाजमा लैजानु पर्छ।’
यस्तो अभ्यासमा उनी आफैँ सहभागी भइरहेका छन्। एउटा उदाहरण दिँदै फुँयाल भन्छन्, ‘केही समयअघि कीर्तिपुरको एक विद्यालयका आधारभूत तहका विद्यार्थी सुरक्षाका बारेमा बुझ्न शिक्षकसँग प्रहरी कार्यालय पुगे। प्रहरी निरीक्षकसँग विद्यार्थीले छलफल गरे। प्रश्न सोधे। शिक्षकले किताबका कुरा बुझाउने र यसरी त्यहीँ पुगेर सिकेको सिकाइ धेरै फरक हुन्छ।’
जेनजी आन्दोलनले शिक्षामा के सन्देश र अवसर दिएको छ? आन्दोलनपछि चुलिएको युवा नेतृत्वको विषयले विद्यालय र विश्वविद्यालयमा कस्तो असर पर्न सक्छ? शिक्षामा कसरी पुस्तान्तरका कुरा जोड्न सकिन्छ?
यसबारेमा नेपालखबरले समाज विकास तथा शिक्षा सवालका अध्येता विमलकुमार फुयाँलसँग गरेको भिडिओ कुराकानी- :

प्रतिक्रिया