काठमाडौँ महानगरपालिका-५ थलीमा घरायसी विवादका क्रममा बुबाले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-७ का हाल ५३ वर्षीय विष्णु उप्रेतीले बुधबार बिहान साढे ७ बजे आफ्ना ३२ वर्षीय छोरा रूबिस उप्रेती र ३१ वर्षीया बुहारी मनिता भण्डारीमाथि खुकुरी प्रहार गरेका हुन्।
छोरा रूबिसको बायाँ हातका चार औँला र दाहिने खुट्टाको घुँडामा चोट लागेको छ भने बुहारी मनिताको दाहिने हात र काँधमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवैजनाको थलीस्थित पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।
खुकुरी प्रहारपछि विष्णु उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएको खुकुरी भने अहिलेसम्म फेला परेको छैन।
प्रहरी वृत्त बौद्धको टोली प्रहरी नायव निरीक्षक उद्धव कोइरालाको कमान्डमा घटनास्थल पुगेको थियो। घरायसी विवादकै क्रममा घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
Shares

प्रतिक्रिया