बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव कात्तिक १३ गते बिहीबार दिउँसोदेखि १५ गते शनिबार बिहानसम्म नेपालका बागमती, मधेस र कोसी प्रदेशमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उक्त प्रणालीको प्रभावले उक्त अवधिमा मधेस र कोसी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने मधेस र कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ।
यस्तै कोसी र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका केही स्थान तथा गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानमा मध्यम हिमपातको सम्भावना छ। साथै कोसी र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको मौसम विभागले जनाएको छ।
हालको विश्लेषणअनुसार उक्त अवधिमा देशका बागमती, कमला, कोसी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ साथै कोसी, बागमती र मधेस प्रदेशका महाभारत, चुरे भई बहने ससाना नदीनालामा आकस्मिक बहाब हुन सक्ने सम्भावना छ।
मौसम विभागका अनुसार विशेषगरि बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोसी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने ससाना नदीमा आकस्मिक बहाबको सम्भावना उच्च देखिएको छ।
मौसम विभागले अगाडि भनेको छ, ‘सम्भावित मौसमी प्रणाली र यसको प्रभाव क्षेत्रका सम्बन्धमा यस विभागले नियमित अनुगमन र विश्लेषण गरिरहेको छ। तसर्थ सम्भावित वर्षा र हिमपातको कारणले नदीनालाहरूमा आकस्मिक बहाब, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सम्बन्धित सबै निकायहरू र आमसर्वसाधारणलाई यस विभागबाट वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) तथा एसएमएसलगायतका माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

Shares

प्रतिक्रिया