समाज


बर्खा सकिएको १ महिनापछि २ दिनदेखि लगातार वर्षा, अस्वाभाविक होइन?

बर्खा सकिएको १ महिनापछि २ दिनदेखि लगातार वर्षा, अस्वाभाविक होइन?

शुक्रबार बिहान काठमाडौँको त्रिपुरेश्वर चोकबाट खिचिएको तस्बिर।


नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार ८:१८, काठमाडौँ

कम्तीमा २ दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा लगातारजसो वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असर सुरु भएयता बुधबार मध्यरातिदेखि देशका धेरै स्थानमा पानी परिरहेको छ। 

‘तर लगातार भनेर रोकिँदै नरोकिई पानी परिरहेको चाहिँ छैन’, उनले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘तर बीचबीचमा केही कम हुने, कहिले केही बेर रोकिने र फेरि पर्ने क्रम भने २ दिनदेखि जारी छ।’

मौसमविद् ढकालका अनुसार काठमाडौँ उपत्यकामा पनि बुधबार राति १ बजेदेखि अहिले (शुक्रबार बिहान ८ बजे) सम्म लगभग लगातार पानी परिरहेकै छ। 

वर्षाले शुक्रबार बिहान काठमाडौँ त्रिपुरेश्वर चोकको अवस्था।

वर्षायाम ल्याउने मनसुन नेपालबाट बाहिरिएको एक महिना भइसकेको छ। त्यसयता देशमा पोस्ट-मनसुन अर्थात् हिउँदयाम सुरु भएको छ। तर अहिले पनि वर्षायाममा झैँ लगातार पानी परिरहेको छ। 

यो अस्वाभिवक होइन? 

मौसमविद् ढकाल भन्छन्, ‘अस्वाभाविक नै त होइन, विगतमा पनि कुनै-कुनै वर्ष यस्तो भएको छ, तर यस्तो घटना कम नै हुन्छ।’

यसअघि कहिले-कहिले मनसुन हटिसकेर पनि यस्तो वर्षा भएको छ भनेर विवरण दिन भने तथ्यांक नै हेर्नुपर्ने उनले बताए। 

मौसम महाशाखाका अनुसार हाल (शुक्रबार बिहान) कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थान, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज पनि काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा मौसम खुल्ने सम्भावना नरहेको मौसमविद् ढकालको भनाइ छ। 

मौसम पूर्वानुमान महाशाखाले शनिबार (कात्तिक १५) बिहानदेखि मौसम क्रमश: सुधार हुँदै जाने प्रक्षेपण गरेको छ।

मौसम महाशाखाले भनेको छ, ‘बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारणले नेपालको मौसम मिति २०८२/०७/१४ गते शुक्रबार साँझसम्म प्रभावित हुने, तत्‌पश्चात् मौसममा क्रमिक रूपमा सुधार हुने देखिन्छ। साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव छ।’

आज कहाँ, कस्तो छ वर्षा/हिमपातको सम्भावना? हेर्नुहोस् मौसम महाशाखाको प्रक्षेपण:

आज दिउँसो : कोसी प्रदेश र मधेस प्रदेश अधिकांश स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका धेरै स्थानहरूमा तथा कर्णाली प्रदेशका केहि स्थानहरूमा तथा बाँकी उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा भारी हिमपात साथै कोसी प्रदेश र मधेस प्रदेश थोरै स्थानहरूमा, गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : कोसी प्रदेश र मधेस प्रदेश प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्विनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश र बागमती प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका धेरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाड तथा हिमाल भूभागका एक-दुई स्थानमा मध्यम हिमपातको सम्भावना छ। कोसी प्रदेश र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाले यहाँ 'दिउँसो' शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र 'राति' शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

मौसमविद्का अनुसार, २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नुलाई मध्यम वर्षा भनिन्छ।

अनि ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नुलाई भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ।  

यस्तै एक-दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। 

यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ।

यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad