समाज


जो डाक्टर नभए पनि बिरामी निको पार्छन्…

जो डाक्टर नभए पनि बिरामी निको पार्छन्…

नेपालखबर
कात्तिक १७, २०८२ सोमबार ७:५४, कैलाली

कैलालीको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ।

कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन्। यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ।

गाउँका सबैले कठरियालाई स्नेहपूर्वक ‘रामदास डाक्टर’ भनेर सम्बोधन गर्छन्। तर उनी न त डाक्टर न वैद्य नै हुन। जम्मा कक्षा दुईसम्म मात्रै औपचारिक शिक्षा लिएका उनको हातमा भने अनौठो सीप छ, जसले कैयौँ हाडजोर्नी, नसा र मांसपेशीसँग सम्बन्धित बिरामी निको पार्दै आएका छन्।

हड्डी भाँचिएका, नसा च्यापिएका वा मांसपेशी सरेर दुखाइले थलिएका मानिस उनीकहाँ आउँछन्। उनले हातैले छामेर बिरामीको समस्या पत्ता लगाउन्छन। छामेरै भन्छन, ‘यो हड्डी त सरेछ, यो नसा त च्यापिएछ।’ त्यसपछि उपचार सुरु गर्छन्। आजसम्म कति बिरामी निको पारे भन्ने यकिन तथ्याङ्क छैन। 

त्यसो त उनले यो सीप संयोगले प्राप्त गरेका होइन। उनका हजुरबुवा गाउँका प्रसिद्ध वैद्य रहेका थिए । बाल्यकालमै हजुरबुवाको उपचार कला हेर्दैहेर्दै उनमा पनि त्यसप्रति गहिरो लगाव सुरु भयो।

हजुरबुवाले बिरामीको हड्डी मिलाउँदा सँगै बसेर हेर्ने र कहिलेकाहीँ आफ्नै हातले बिरामी छाम्न लगाउने गर्थे। त्यही क्रममा हातमा सीप बस्दै गयो। हजुरबुवाको निधनपछि त्यो सीप परिवारमै हराउन नदिन उनले निरन्तर अभ्यास गरे। अहिले त्यही सीप उनको परिचय बनेको हो।

४० वर्ष भन्दा बढी भयो उनले यो सीपको प्रयोगबाट धेरैलाई सेवा दिइरहेको। उनको घरमा दैनिक एक सयभन्दा बढी बिरामी आउँछन्। कतिपय बिरामी त यस्ता हुन्छन्, जसले अस्पतालमा उपचार गर्दा पनि निको भएका हुँदैनन्।

कठरियाको उपचार शैली पनि सरल छ। उनीसँग कुनै औषधि छैन, न त कुनै अत्याधुनिक उपकरण। उनको हात, सीप र अनुभव नै औजार हो। बिरामीलाई छामेर, समस्या भएको ठाउँमा सन्तुलित तवरले दबाएर र सावधानीपूर्वक नसा र हड्डी मिलाउन्छन। उनको उपचारपछि बिरामी तुरुन्तै राहत महसुस गर्छन्।

उनका लागि बिरामी निको पार्नु व्यापार होइन, जिम्मेवारी हो। त्यसैले उनले उपचारको शुल्क निर्धारण गरेका छैनन। बिरामीले आफ्नो गक्षअनुसार पैसा दिन्छन्। उनले धन्यवादसहित ग्रहण गर्ने गरेका छन।

भजनीका भागिलाल चौधरीले आफ्नो अनुभव सुनाउँदै भने, ‘मेरी श्रीमती १२ वर्षदेखि नसा च्यापिएको समस्याले पीडित थिइन् । कति अस्पतालमा लग्यौँ, निको भइनन्। अन्तमा रामदास कहाँ आएपछि पूरै निको भइन्।’ हरेक गाउँमा उनले उपचार गरेका अनेकौँ उदाहरण छन्। उठ्न, बस्न, हिँड्न नसक्ने मानिस पनि उहाँकहाँ आएर निको भएर फर्किएका प्रशस्त उदाहरण छन्।

उपचारमा उनी प्राय आफैँले बनाएका स्थानीय सामग्री प्रयोग गर्छन। कहिलेकाहीँ मेडिकलबाट पनि आवश्यक सामग्री किन्न लगाउन्छन । आफूकहाँ उपचार गर्न आउने अधिकांश बिरामी कमजोर आर्थिक अवस्था भएका हुने उनी बताउन्छन । उनका लागि यस्ता बिरामीको उपचार गर्नु नै धर्म हो। ‘मलाई पैसा होइन, सन्तुष्टि चाहिएको हो,’ उनले भने, ‘उपचार पछि बिरामीले भन्छन् अब म ठिक छु, त्यही नै मेरो सबैभन्दा ठूलो खुशी हो।’

उनी आफ्नो सीप आगामी पुस्ताले सिकुन् भन्ने चाहान्छन । उनले केही स्थानीय युवालाई सिकाउनु पनि भयो, तर उनीहरूले नियमित अभ्यास गरेनन्। उनले भने ‘अब म चाहन्छु कोही कसैले लगन र धैर्यताका साथ यो सीप सिकोस, ताकि म पछि पनि धेरैलाई यसबाट फाइदा पुगोस्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad