चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट भएका निर्णयहरू उल्टाउन सरकारसँग माग गरेका छन्।
उनले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी मेडिकल कलेजका सिट व्यवसायीहरूको स्वार्थअनुसार बढाइएको भन्दै ती निर्णयहरू तत्काल फिर्ता लिन आग्रह गरेका हुन्।
डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी र प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि उपस्थित थिए। सो अवसरमा डा. केसीले स्वास्थ्य तथा चिकित्साशिक्षा सुधार, सुशासन र सामाजिक न्यायका विषय समेटिएको १० बुँदे ज्ञापनपत्र प्रधानमन्त्री कार्कीलाई बुझाए।
भेटवार्तामा प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्य मन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झा पनि उपस्थित थिए। छलफलमा डा. केसीले विगतका सरकारहरूका समयमा व्यवसायिक स्वार्थका कारण चिकित्सा शिक्षा क्षेत्रमा भएका गलत निर्णयहरू सच्याउनुपर्नेमा जोड दिए।
डा. केसीले बुझाउनुभएको ज्ञापनपत्रमा आयोगमा राजनीतिक हस्तक्षेपमार्फत गरिएको सिट सीमा हेरफेर लगायतका गलत निर्णय तत्काल सच्याई आयोगको स्वायत्तता पुनर्स्थापना गर्नुपर्ने उल्लेख गरिएको छ। गेटा मेडिकल विश्वविद्यालयमा कुनै दल वा स्वार्थ समूहको प्रभुत्व नहुने गरी योग्य पदाधिकारी छनोट गरी अस्पताल सेवा विस्तार र एमबीबीएस कार्यक्रम अघि बढाउनुपर्ने माग पनि गरिएको छ।
त्यस्तै विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिका लागि मापदण्डसहितको उच्च शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न, चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा निर्वाह भत्ता नेपाल सरकारको आठौं तह सरह बनाउने र स्वास्थ्य संस्थामा जनशक्ति दरबन्दी वृद्धि गरी रोजगार अवसर सिर्जना गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समावेश छ।
Shares

प्रतिक्रिया